अर्थनीति

राष्ट्र बैंकले असोज ४ देखि नयाँ नोट वितरण गर्ने


काठमाडौँ – हरेक वर्ष दसैंअगाडि नयाँ नोट साट्ने प्रचलन छ । राष्ट्र बैंकले पनि निश्चित मिति र समय तोकेर नयाँ नोट वितरण गर्ने व्यवस्था गर्दै आएको छ ।
राष्ट्र बैँकले यस वर्ष दसैँको लागि आगामी असोज ४ गतेदेखि नयाँ नोट वितरण गर्ने भएको छ । कोरोना संक्रमणको कारण गतवर्ष नयाँ नोट नबाँडेको राष्ट्र बैँकले यस वर्ष समयमै सर्वसाधारणलाई नयाँ नोट वितरण गर्न लागेको हो ।

असोज ४ देखि काठमाडौँमा केन्द्रीय कार्यालय बालुवाटार र हरेक प्रदेश कार्यालयमार्फत सर्वसाधारणलाई नयाँ नोट वितरण गरिने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागकाले जनाएको छ ।

राष्ट्र बैंकले हरेक वर्ष दसैँको बेला सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै आएको छ । दसैँको टीका लगाउँदा दिइने दक्षिणामा नयाँ नोट प्रयोाग गर्ने चलन छ । राष्ट्र बैँकले असोज ४ गतेदेखि नै दसैँ लागि नयाँ नोट बाँडे पनि अन्य बैंक र वित्तीय संस्थाले भने दसैंको १५ दिनअघिबाट मात्र वितरण गर्ने छन् ।

राष्ट्र बैँकले सर्वसाधारणलाई प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट दिने तयारी गरेको छ । ५, १०, २०, ५० र एक रुपैयाँको बण्डल नयाँ नोटको रुपमा लिइने छ ।

दसैँमा वितरणको लागि राष्ट्र बैँकले बैंक तथा वित्तीय संस्थालाई २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट दिएको छ। आइतबारसम्म बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैँकबाट ३ अर्ब ६० करोड रुपैयाँ लगिसकेका छन् ।