राजनीति

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रयोग हुने मतपत्र छपाइ सकियो


काठमाडौँ – आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रयोग हुने मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार करिब दुई हजार पाँच सय थान मतपत्र छापिएको छ । राष्ट्रिय सभा निर्वाचनमा सातै प्रदेशमा गरी कूल २०२५ मतदाता रहेका छन् ।

छापिएका मतपत्र माघ ४ गतेदेखि निर्वाचन अधिकृतको कार्यालयमा पठाउने आयोगले जनाएको छ । माघ ७ गतेभित्र सबै निर्वाचन अधिकृतको कार्यालयमा पठाइसक्ने आयोगले बताएको छ । आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने छ । रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् भने हरियो रंगको मतपत्र प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन् ।

स्थानीय तहका प्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ निर्धारण गरिएको छ । प्रदेश २ र बागमतीमा दुई–दुई तथा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा तीन–तीन गरी १९ रिक्त सदस्य पदका लागि माघ १२ गते राष्ट्रिय सभा निर्वाचन हुँदै छ ।