Breaking

राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फिर्ता,एसिया कप खेल्ने भाग्यमा नै नभएको प्रतिक्रिया


काठमाडोँ — एसीसी महिला ट्वान्टी २० च्याम्पियनसिप खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टोली सोमबार स्वेदश फर्किएको छ । उपाधि उचाल्नेलक्ष्यसहित मलेसिया पुगेको टोली उत्कृष्ट प्रदर्शनका बाबजूद पनि सेमीफाइनल भन्दा माथि उक्लिन सकेन ।सेमीफाइनलनमा उपाधि विजेता युएईलाई ८१ रनमा नै रोके पनि भारी वर्षाका कारण दोस्रो इनिङ खेल्नै नपाई नेपाल बाहिरिन पुग्यो । प्रकृतिले घात गर्दा नेपालको एसियाकप खेल्ने सपना चक्नाचुर बन्यो ।

मुखमै आएको खेल गुमाउनु पर्दा पीडा त अवश्य नै हुन्छ । त्यसमाथि पनि खेल नै खेल्न नपाई नतीजा अरुलाई सम्पनु पर्दा पीडा झन् दोब्बर हुन्छ । नेपालको यो खेलले आईसीसी र एसीसीको नियममा नै प्रश्न गर्न पर्ने अवस्था आएको छ । यी दुई ठूला खेल संस्थाले आयोजना गर्ने प्रतियोगितामा कम्तीमा पनि रिजर्भ डेको आवश्यक रहेको देखिन्छ ।

प्रतियोगितामा उत्कृष्ट बलर घोषित भएकी नेपालकी अस्मिना कर्माचार्यलेभ्रमण राम्रो अनुभव लिने अवसर भएको र आगामी दिनमा अझै राम्रो गर्ने बताईन् । उनले युएईविरुद्धको सेमिफाइनलमा पाँच विकेट लिएकी थिइन् भने प्रतियोगितामा कुल आठ विकेट लिएकी थिइन् । १० टोलीले सहभागिता जनाएकोप्रतियोगितमा पाँच÷पाँच राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको थियो ।

समूह बीमा रहेको नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराईनलाई आठ विकेटले हराए पनि अन्तिम खेलमा हङकङलाई सात विकेटको नतिजा सुम्पिएर उपविजेताको हैसियतमा अन्तिम चारमा प्रवेश गरेको थियो ।प्रतियोगिताको नियम अनुसार युएई समूह विजेताको हैसियतमा फाइनल प्रवेश गरेको थियो । युएई समूह ‘ए’ को विजेताको रुपमा सेमीफाइनलमा प्रवेश गरेको प्रत्यक्ष फाइदा उठाउँदै युएई फाइनलमा प्रवेश गर्नपनि सफल भयो । घरेलु टोली मलेसियालाई हराउँदै युएईले एसीसी महिला ट्वान्टी २० च्याम्पियनसिपको उपािध पनि जित्न सफल बन्यो ।