राजनीति

राप्रपाले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम


काठमाडौँ — मूल्यवृद्धि, मल अभाव लगायतका विषय समेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले असार १३ गतेदेखि ३१ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने निर्णय गर्दै धर्ना, कोणसाभा, राँके जुलुस लगायतका कार्यक्रम तय गरेको हो ।

यसअघि राप्रपाले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष मूल्यवृद्धि नियन्त्रण लगायतका मागसहितको ज्ञापनपत्र बुझाएको थियो । त्यसमा समेटिएका मागहरु पूरा हुनुपर्ने माग राप्रपाको छ ।

पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

राप्रपाले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि, रासायनिक मलको अभाव लगायतका विषयमा आन्दोलन गर्ने जनाएको छ ।

राप्रपाले असार १३ गते ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा धर्ना तथा कोणसभा गर्ने भएको छ। त्यस्तै असार १९ गते पार्टीसँग आबद्ध ट्रेड युनियनको नेतृत्वमा श्रमिकको उचित ज्याला निर्धारण र श्रमिकको जीवन बीमा लगायतका मागसहित श्रममन्त्रीलाई ज्ञापन पत्र पेस गर्न, भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा असार २४ गते धर्ना दिने र कोणसभा गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

यस्तै असार २७ गते राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको नेतृत्वमा जनक शिक्षा सामग्री केन्द्र र कक्षा १२ सम्मको शिक्षालाई नि:शुल्क हुने व्यवस्थालाई कडाईका साथ कार्यान्वयन गर्न उच्च माध्यमिक शिक्षा परिषदमा ज्ञापनपत्र र धर्ना दिने कार्यक्रम रहेको राप्रपाले जनाएको छ।

असार ३१ मा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको नेतृत्वमा महिला हिंसाविरुद्ध राष्ट्रिय महिला आयोगमा धर्ना दिने कार्यक्रम राखिएको श्रेष्ठले जानकारी दिए ।