Breaking

राप्रपामा मिश्रको भव्य स्वागत, पार्टी पुर्नजागृति हुने नेता कार्यकर्ताको विश्वास


काठमाडौँ — वैकल्पिक शक्तीको वकालत गर्दै आएका र पछिल्लो समय विचार भन्दा माथि देश भन्ने अभियान चलाएका रविन्द्र मिश्र राप्रपा प्रवेश गरेका छन । तामझामपूर्ण कार्यक्रमका वीच शंख र घण्टा बजाँउदै एक भएका उनीहरुले यसले पार्टीमा उत्साह भर्ने बताएका छन । एमालेसंग नरम र कांग्रेससंग गरम देखिएका मिश्रले आफूलाई तराजु छोडेर हलो बोक्न लाज नहुने समेत बताएका छन । रविन्द्र मिश्रले नेतृत्व गरेको विचारभन्दा माथि देश अभियानमा संलग्नहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा समाहित भएका छन ।

राष्ट्रिय सभागृहमा भएको कार्यक्रममाचार बुँदे सहमति गर्दै मिश्र लगायतका राप्रपा प्रवेश गरेका हुन । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणा पत्रमा हस्ताक्षर गर्दै एकअर्कालाई हस्तान्तरण गरेका थिए।अव मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेछन् र पार्टीका सबै नेतृत्वदायी समितिहरूमा सामेल हुनेछन् । एकता घोषणापत्रमा हस्ताक्षर गर्दै शीर्ष नेताहरुले संवैधानिक राजतन्त्रको पुर्नस्थापना र धर्म निरपेक्षताको खारेजीमा सहमति जनाएका छन् ।

यो संगै राप्रपा कसैले रोक्ने नसक्ने तरिकाबाट अघि बढ्ने राप्रपा अध्यक्ष लिङदेको बुझाई छ ।पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले विकल्प खोजिरहेको र जनताको उत्तम विकल्प राप्रपा नै भएको बताए ।मिश्रको प्रवेशले हौसिएका लिङदेनले आगामी चुनावमा आफ्नो पार्टी पहिलो शक्ति बन्न सक्ने दाबी समेत गर्न भ्याएका छन ।काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले निर्वाचित हुन्छन् भन्ने कसैले नसोचेको भन्दै उनले राप्रपाको पनि त्यस्तै अवस्था हुने दावी गरेका हुन ।

उनले पार्टीका नेता कार्यकर्तालाई चुनाव क्षेत्रमा जान र उम्मेदवारी घोषणा गर्न पनि आग्रह समेत गरेका छन । लिङदनले मिश्रसहित पार्टीमा आएका नेताहरूले कत्ति पनि असहजता महसुस गर्नु नपर्ने प्रत्याभूति दिलाए । आफूहरूले पदका लागि राजनीति नगरेको भन्दै उनले भोलि पनि पदकै कारण झगडा नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन । अब देशका १६५ वटै प्रतिनिधिसभा र ३३० प्रदेशसशभमा उम्मेदवारी दिने लिङदेनले बताएका छन ।

वैकल्पिक शक्तीको वकालत गरेर त्यसैलाई हाक्न नसकेका मिश्रपनि राप्रपामा समाहित हुन पाउदाँ खुसी देखिएका छन । पार्टी एकताका लागि नाम र चुनाव चिह्नमा अल्झिन नहुने बताएका उनले आफूले हलो बोक्ने निर्णय गरेँको बताए ।राप्रपासँग एकता हुने भएपछि केही साथीले तराजु छाडेर हलो बोक्ने निर्णय गरेको हो भन्दै ठट्टा गरेको भन्दै मिश्रले हलोले ६० प्रतिशत नेपालीको प्रतिनिधित्व गर्ने बताए । मिश्र अध्यक्ष रहेको विवेकशील साझा पार्टीको चुनाव चिह्न तराजु थियो ।

राप्रपाको भने हलो छ । हलो बोक्न आफूलाई केहि लाज नहुने उनको भनाई थियो । आफू अभिव्यक्तिका क्रममा एमालेप्रति नरम र कांग्रेप्रति गरम सुनिएका उनी काठमाडौँ १ बाट चुनाव लड्ने तयारीमा छन । जसका लागि राप्रपा जाने र एमालेसंग सहकार्य गर्न लागेका उनी विगतमा प्रकाशमान सिंहसंग झिनो मतान्तरले हारेका थिए । पार्टी प्रवेश कार्यक्रममा उनले त्यहि तुस पोखेका छन ।

विगतमा टुपरटुईयालाई केवल चर्चाका लागि पार्टी प्रवेश गराएर चुनाव जित्ने सपना देखेको भन्दै आलोचना खेपेको राप्रपाले यो पटक भने वैकल्पिक भनिएको एक धार नै आफूमा समाहित गरेको छ । जसले पार्टीमा पुनर्जागरण आउने र एजेण्डामा थप पुग्ने राप्रपाका नेताहरुको बुझाई छ ।विश्वासिलो र बलियो ‘सम्बद्र्धनवादी राष्ट्रवादी’ शक्तिको आवश्यक रहेकाले आफूहरु एक ठाउँ आइपुगेको नेताहरुको भनाईकावीच यसको उत्साह चुनावमा देखिन्छ कि देखिदैन त्यो हेर्न भने केहि समय कुनुपर्ने हुन्छ ।