राजनीति

राप्रपाको एकता महाधिवेशन : थापा र लिङदेनमध्ये कस्को सम्भावना कति ? (भिडियोसहित)


काठमाडौँ — पछिल्लो समय दलहरुको पार्टी महाअधिवेशन र नेतृत्व चयन प्रक्रियाले राजनीतिक वृत्त गर्माएको छ । ठूला दलहरुमा पुरानै नेतृत्वको दवदवा रहेका बेला राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा रहेको राप्रपा महाधिवेशनमा भने पहिलो पुस्ता र दोस्रो पुस्ताबीच प्रतिस्पर्धा हुने भएको छ ।

राजसंस्था र हिन्दू राष्ट्रसहित उदारता, प्रजातन्त्र र समाजवादको राजनीतिक एजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकताको महाधिवेशन बुधबारबाट सुरु हुँदैछ । ठूला राजनीतिक दलमा पहिलो पुस्ताकै दवदवा रहेका बेला राप्रपामा भने भावी नेतृत्वका लागि पहिलो र दोस्रो पुस्ताका नेताहरूबीच रस्साकस्सी सुरु भएको छ  ।

पार्टीको नेतृत्व लिनका लागि हालका अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन मैदानमा छन् । राप्रपाालाई एकताबद्ध गरी पार्टीलाई एकढिक्का बनाउनकै लागि अध्यक्षमा उम्मेदवारी दिएको थापाले प्रस्ट पारेका छन् । पार्टीमा रहेर नगरी नहुने काम धेरै रहेको र त्यो काम अपूरो छोडेर आफू बाहिरिन नसक्ने भन्दै एकीकृत पार्टीको नेतृत्व गरेर राप्रपालाई एकपटक माथि उठाएपछि मात्रै नेतृत्व हस्तान्तरण गर्ने उनको भनाई छ ।

अध्यक्षका अर्का दावेदार नेता राजेन्द्र लिङ्देनले पुरानो नेतृत्वबाट राप्रपाको एजेन्डा स्थापित हुन नसकेको भन्दै युवापंक्तिलाई नेतृत्व सुम्पिनुपर्ने धारणासहित उम्मेदवारी घोषणा गरेका छन । लिङदेनले कमल थापालाई समयको पद्चाप बुझेर एकपटक विश्राम लिन आग्रह समेत गरेका छन् । आफू अध्यक्षमा निर्वाचित भएमा टुटफुट अवस्थामा रहेका सबै राजावादीलाई एकतामा ल्याउने लिङदेनको दाबी छ ।

महाधिवेशनमा राप्रपाका हालका अध्यक्ष पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी मैदानबाहिरै रहने भएका छन् । राणा र लोहनीले क–कसलाई समर्थन गर्छन् भन्ने चर्चाकैबीच अध्यक्ष लोहनीले पार्टीको नेतृत्व नयाँ पुस्तालाई दिनुपर्ने भन्दै राजेन्द्र लिङ्देनको पक्षमा उभिएका छन् । अर्का अध्यक्ष पशुपति शमशेर राणा भने अझै मौन छ ।

बहालवाला अध्यक्ष कमल थापा राप्रपालाई एकढिक्का गर्दै अगाडि बढ्न सबै शीर्ष नेतृत्वको सहयोगमा पुन अध्यक्ष हुने आशामा छन । यता युवा पुस्तामा चर्चामा रहेका नेता राजेन्द्र लिङदेन प्रकाशचन्द्र लोहनी आफ्नो पक्षमा उभिएपछि थप ढुक्क देखिन्छन् । अध्यक्षका दावेदार थापा र लिङदेन प्यानल सहित अघि बढ्ने तयारीमा छन् । जस्ले राप्रपाको महाधिवेशन थप रोचक हुने अनुमान लगाउन सकिन्छ ।