देश

यौन दुर्व्यवहारमा परेकी बलात्कार पीडितको समर्थनमा : अभिनेत्री पूजा शर्मा


काठमाडौँ — अभिनेत्री पूजा शर्माले पनि ब्युटी पेजेन्टको नाममा यौन दुर्व्यवहारमा परेकी बलात्कार पीडितको समर्थनमा उत्रिएकी छन् । शर्माले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै ती युवतीलाई अगाडि बढेर पीडकको वास्तविकता बाहिर ल्याउन अनुरोध गरेकी छन् । यो एकजना पीडितमाथि हुने शारीरिक हिंसा मात्र होइन, यो मानवता माथिको आक्रमण पनि हो, शर्माले अगाडि भनिन् म देख्न सक्छु । डरको बाबजुद पनि तिमी बलियो भएकी छौ । शर्माले ती युवतीलाई आफ्नो साथ र समर्थन समेत रहेको बताएकी छन् ।

अभिनेता पल शाहमाथि नाबालिगलाई यौनशोषण गरेको आरोप लाग्दा पीडकको पक्षमा अभिव्यक्ति दिएर विवादमा तानिएकी शर्मा यसपटक भने पीडितको पक्षमा उभिँदा धेरैले आश्चर्य मानेका छन् । उनको पोष्ट कमेन्ट गर्दै धेरैले उनलाई ‘डबल स्टान्डर्ड’ देखाएको आरोप समेत लगाएका छन् । सन्देश पोखरेल नामक सामाजिक प्रयोगकर्ताले प्रश्न गरेका छन्, पलको लागि न्याय भन्दै गर्दा तिम्रो मानवीयता कता घुम्न गएको थियो । अस्मिता एस्मिन नामक एक सामाजिक प्रयोगकर्ताले उनको पोष्टमा लेखेकी छन् तिमी त पलको लागि न्याय माग्ने मानिस होइनौँ खुसी लाग्यो यहाँ पीडितको लागि न्याय मागेकी छौँ ।