Breaking

युरोपियन क्लबहरु नाम चलेका खेलाडी क्लबमा भित्र्याउन व्यस्त


यतिखेर युरोपियन क्लबहरु नाम चलेका खेलाडीलाई क्लबमा भित्र्याउन व्यस्त छन् । क्लबलाई उपाधि दिलाउनमा मद्दत पुर्याउन सक्ने खेलाडीसँग सम्झौता गर्ने हरसम्भव कोसिस जारी छ । युरोपियन फुटबलमा यतिखेर समर विन्डो ट्रान्सफर चलिरहेको छ । युरोपियन फुटबल क्लबका खेलको मज्जा लिने दर्शकलाई यो समय निकै पीडादायी हुने गर्छ । कारण त्यहाँ यो बेला कुनै पनि फुटबल खेल हुँदैन । त्यसका बाबजूद पनि युरोपियन फुटबलले माहोल तताउन भने छोड्दैन । त्यहाँ हुने फुटबलको गतिविधिले सबैको ध्यान तानिन्छ ।


यस वर्षको समर विन्डो ट्रान्सफर जुन १० देखि सुरु भएसँगै विभिन्न क्लब आगामी सिजनका लागि आफ्नो टिम तयार पार्नमा व्यस्त छन् । क्लबलाई उपाधि जिताउन मुख्य भूमिका निर्वाह गर्न सक्ने खेलाडीको पछि हरेक क्लब हात धोएर लागेका छन् । यस सिजन म्यान्चेष्टर सिटी खेलाडी अनुबन्धन गर्नेमा अन्य क्लबभन्दा अब्बल देखियो । सिटीले यस सिजन अन्य ठूला क्लबले आखाँ लगाइरहेको लोकप्रिय खेलाडीलाई अनुबन्धन गर्न सफल भयो ।

उनले जर्मन बुन्डेज लिगमा बोरुसिया डर्टमन्डबाट खेल्दै आइरहेका २१ वर्षीय खेलाडी एर्लिङ हालाण्डलाई ५१ मिलियन पाउण्डमा ५ वर्षका लागि आफ्नो टिममा अनुबन्धन गर्याे । रियल मड्रिड, बार्सिलोना जस्ता क्लबलाई पछि पार्दै सिटी पहिलो बन्न सफल भएको हो । त्यस्तै अर्का इंलिस क्लब लिभरपुलले पनि २२ वषीर्य डार्विन नुनेजलाई क्लबमा भित्र्याइसकेको छ ।

उनी ८ करोड ५० लाख पाउण्डमा पोर्चुगिज क्लब बेनिफिकाबाट ६ वर्षका लागि लिभरपुल आएका हुन् । लिभरपुलले स्कटिस क्लब एबरडीनबाट युवा डिफेन्ड रामसेलाई पनि अनुबन्ध गरेको छ । लिभरपुललेनुनेज रामसेलाई ल्याउदा माने र मिनामिनोलाई भने जान दिएको छ । सेनेगलका फरवार्ड साडियो माने जर्मन क्लब बायर्न म्युनिखसँग सम्झौता गर्न मंगलबार म्युनिख पुगे ।

अब मानेले मेडिकल जाँचपछि बायर्नसँग सम्झौता गर्ने छन् । बायर्नले फरवार्डलाई इंग्लिस क्लब लिभरपुलबाट अनुबन्ध गर्न लागेको हो । लिभरपुल ३० वर्षीय मानेलाई ४१ मिलियन युरोमा बेच्ने सहमत जनाएपछि बायनले तीन वर्षका लागि सम्झौता गरेको हो । त्यस्तै लिभरपुलले जापानी मिडफिल्डर ताकुमी मिनामिनोलाई १८ मिलियन युरोमा फ्रेन्च क्लब मोनाको पठाउने सहमति गरेको छ ।

रियल मड्रिडले पनि २२ वर्षीय मिडफिल्डर ओरेलियन चुवामेनीलाई १०० मिलियनमा ६ वर्षका लागि भित्र्याउँदा चेल्सीका सेन्टर ब्याक एन्टोनियो रुडिगरसँग चार वर्षको सम्झौता गरेको छ । च्याम्पियन लिग विजेता रियल मड्रिडले किलियन एम्बाप्पेलाई ल्याउने पहल गरे पनि असफल रह्यो । चेल्सीले रुडिगरसँगै अर्का एक खेलाडीलाई पनि जान दिएको छ ।

लण्डनको क्लबले रुडिगरसँगै बेल्जियम खेडाली रोमेरु लुकालुलाई रिलिज गरेको हो । लुकाकु इटालीयन लिग सिरी एको इन्टर मिलानमा लोनमा फर्केका छन् । उनले चेल्सी आउनु अघि इन्टरलाई लिग जिताएका थिए । आर्सनलले मिडफिल्डर फाबियो भिइरालाई अनुबन्ध गरेको छ ।

आर्सनलले पोर्चुगिज मिडफिल्डरलाई पोर्टोबाट फाबियो भिइरालाई पाँच वर्षका लागि अनुबन्ध गरेको छ भने वेस्ट ह्यामले डिफेन्डर नायफ अगुएर्डलाई अनुबन्ध गरेको छ । त्यस्तै पोर्चुगिज मिडफिल्डर बेर्नार्डो सिल्भा सिटीबाट बार्सिलोनमा अनुबन्धका लागि तयारी भईरहेको चर्चा पनि त्यतिकै मात्रामा चुलिरहेको छ । रहिम स्टर्लिङ चेल्सीमा, रोबर्टाे लेवान्डोस्की बार्सिलोनमा आउने चर्चा अफहवा पनि चलिरहेको छ ।

अब यस्ता चर्चा सेप्टेम्बर १ अन्त्यसम्म आइनै रहन्छ । यस्ता खबरले दिन दिनै नयाँ नयाँ रुप लिने नै छ । तर सेप्टेम्बरको दास्रो दिनबाट भने को कहाँबाट खेल्नेछन् सबै थाहा हुने छ । किनकी सेप्टेम्बरबाट १ देखि यो विन्डो सिजनको अन्त्य हुने छ ।