Breaking

मौसम : देशभर भारी वर्षाको सम्भावना


काठमाडौँ — देशका विभिन्न भागमा आज पनि बदली र वर्षा हुने भएको छ । केही स्थानमा आज बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश–१ मा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भू–भागमा बिहान आंशिकदेखि सामान्य बदली रहेको छ ।

प्रदेश–१ तथा सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । वर्षाको सम्भावना रहेका स्थानमा पहिरो जानसक्ने र यातायात सेवा अवरुद्ध हुनसक्ने सम्भावना रहेकाले सचेत रहन पनि विभागले आग्रह गरेको छ ।