खेलकुद

मेसीले मेजविरुद्धको खेल गुमाउने,च्याम्पियन्स लिग पनि गुमाउने सम्भावना


काठमाडौँ – पीएसजीका फरवार्ड लियोनल मेसीले फ्रेन्च लिग वानमा मेज विरुद्धको खेल गुमाउने भएका छन् । मेसीको बायाँ घुँडामा चोट देखिएकोले आज हुने मेजसंगको खेल गुमाउने भएका हुन् ।

पीएसजीले मेसीको घुँडामा चोट देखिएको जनाएको छ । मेसीको घुँडाको एमआरआई गर्दा हड्डीमा चोट देखिएको थियो । ३४ वर्षीय मेसी अगष्टमा बार्सिलोना छाड्दै फ्रि ट्रान्सफरमा पेरिस क्लबमा अनुबन्ध भएका थिए । उनले पीएसजीका लागि सुरुआती तीन खेल खेल्दा गोल गर्न सकेका छैनन् । पीएसजीले आगामी मंगलबार म्यानचेष्टर सिटीसँग च्याम्पियन्स लिग खेल्दैछ ।

मेसीले उक्त खेल पनि गुमाउने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सिटीसँग खेल्नुअघि पीएसजीले शनिबार मोन्टेपिलरसँग खेल्ने छ ।