पर्यटन

मेरापिक क्षेत्रमा फसेका ३ जनाको उद्धार, १ जना सम्पर्क विहीन


काठमाडौँ – मेरापिक क्षेत्रमा फसेका मध्ये तीन जनाको उद्धार गरिएको छ । बुधबार बिहान उद्धारका लागि गएका सात जना क्लाइबीङ शेर्पाले मेरालामा फसेका एक बेलायती र दुई जना नेपालीलाई उद्धार गरि खोङ्मादिङ झारिएको एडभेन्चर भिक्टोरी सञ्चालक लक्ष्मण मिसन कार्कीले जानकारी दिनुभयो ।

मंगलबार दिउँसो देखि फसेका बेलायती नागरिक स्टु सियन, सोलुखुम्बुको महाकुलुङ ३ का पासाङ छिरिङ शेर्पा र पासाङ शेर्पालाई अहिले खोङ्मादिङमा रहेको क्याम्पमा राखिएको छ । उनीहरुको अवस्था सामान्य बन्दै गएको सञ्चालक कार्कीले जानकारी दिनुभयो । मेरालाको ओडारमा चार जना रहेको बताइएको भएपनि एक जना शेर्पा भने सम्पर्क विहीन रहेको कार्कीले बताउनुभयो । सम्पर्क विहीन हुनेमा सोलुखुम्बुका छेतेन शेर्पा रहेकोछ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कबित कटवालका अनुसार निरन्तर परेको पानी तथा हिमपातका कारण ५७०० मिटरको मेराला ओडारमा ४ जना, हाईक्याम्पमा ४ जना र ५३०० मिटरको बेसक्याम्पमा २ जना आरोही मंगलबार देखि फसेका हुन् । उनीहरु एडभेन्चर भिक्टोरी र मकालु एडभेन्चर मार्फत मेरापिक आरोहणमा गएका थिए ।

हिमपातमा फसेका पर्यटकलाई उद्धार गर्न मेरापिक क्षेत्र आएको हेलिकोप्टर मौसम प्रतिकुलताका कारण अवतरण हुन नसक्दा खोटाङको लामीडाँडामा आकस्मीक अवतरण गरिएको छ । बिहिबार बिहान मौसम अनुकुल भएमा खोङ्मादिङ पुगेर एक विदेशी सहित अन्य दुई नेपालीलाई उद्धार गरि लुक्ला लाने तयारी गरिएको कम्पनीले जनाएको छ ।

मकालु एडभेन्चरको व्यवस्थापनमा आएको फिस्टेल एयरको हेलि अनुकुल मौसमको पर्खाइमा लामीडाँडा एयरपोर्टमा रहेको एडभेन्चर भिक्टोरीका सञ्चालक लक्ष्मण मिसन कार्कीले जानकारी दिनुभयो ।