प्रदेश–१

मुख्यमन्त्री आचार्यलाई हर्ष र शोक एकै दिन


काठमाडौँ – भर्खरै मात्र प्रदेश १ को मुख्यमन्त्रीको शपथ खाएका एमाले संसदीय दलका नेता भीम आचार्यका भाई रामप्रसाद आचार्यको मृत्यु भएको छ । ५९ वर्षीय रामप्रसादको शव इनरुव नगरपालिका ३ स्थित आफ्नै निवासमा मृत भेटिएको छ ।

उनी मृत भेटिएको कोठा भित्रबाटै चुकुल लगाइएको थियो । घटनाको अवस्था हेर्दा अन्य मानिसको संलग्नता नरहेको जस्तो देखिएको सुनसरी प्रहरीले जनाएको छ । यद्यपि घटनाको बारेमा गहन अनुसन्धान गरिने प्रहरीको भनाइ छ । घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली निवासमा पुगेको थियो ।

उता प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएलगत्तै नेता भीम आचार्य मुख्यमन्त्री नियुक्त हुनु भएको छ । उनले आजै मुख्यमन्त्रीको पद बहाली गर्ने तालिका सार्वजनिक भइसहेको छ । संसदीय दलका नेता आचार्यलाई एकातिर मुख्यमन्त्री बनेकोमा हर्ष छ भने अर्कातिर भाईको मृत्युको खबरले शोकमा डुबेका छन् ।