Breaking

मिरुना मगरलाई खुल्ला पत्र


प्यारी मिरुना बहिनी,

आफ्नै बहिनी सम्झेर यो पत्र लेख्दैछु । यति बेला तिम्रो मन अशान्त होला । छिट्टै नै यो अशान्तिहरू हटेर जाओस् ।

चलचित्र हेरिसकेर हलबाट बाहिरिने क्रममा जुन घटना घट्न पुग्यो, त्यो भइसक्यो, बितिसक्यो । एकान्तमा एक्लाएक्लै हुँदा भएको होइन । भीडभाडमा यस्तो कहिलेकाहीँ हुन पुग्छ । लामा भाइको गल्ती भयो । त्यसबापत उसले त्यही स्थानमा गाली खायो, थप्पड खायो । तिम्रो पछि-पछि पछ्याउने ठिटोको दुर्व्यवहार पनि सह्यो ।

जे जस्तो तिमीले भन्यौ, उसले चुपचाप त्यही मान्यो । कान समायो, उठबस गर्‍यो । सबैको अगाडि माफी माग्यो । अनि कुनै रिसराग नराखी त्यहाँबाट आफ्नो बाटो लागेकोमा तिमीले भाइलाई हिरासतमा पठायौ । यति हुँदा पनि भाइले तिमीसँग कुनै बदलाको भावना राखेको छैन । अहिले हिरासतबाट छुटेर गुम्बामा फर्की आफनै दैनिक ध्यानपाठमा रहेको छ ।

खासमा चलचित्र हेरिसकेपछि अरु दर्शकहरूले जस्तै त्यो भाइले पनि तिमिसँग फोटो खिचेर खुशी मानुँ, गर्व गरूँ भन्ने सोचेको तर, उल्टो भयो । कहिलेकाँही समय परिस्थिति पनि यस्तो उल्टो भइदिन्छ जसको कारण यो सबै हुन पुग्छ । यति कुरामा चाहिँ ढुक्क हुनु कि त्यो भाइ आफू दुःखी भए पनि, पीर र चिन्तामा भए पनि आउँदा दिनहरूमा तिम्रो जीवनमा उसबाट कुनै किसिमको बाधा अवरोध र विरोध हुने छैन । किनकि ऊ सबैको सफलता अनि भलो चाहने, आफ्नो जीवन नै शान्तिको मार्गमा अर्पण गरेको एक शान्तिप्रेमी व्यक्ति हो ।

लामा भाइले नै पछाडिबाट कसरी छोयो त्यसको सत्यता तिमीलाई मात्र थाहा छ । किनकि पछाडी त कसैले देख्न सक्दैन । भीडमा फर्केर हेर्दा लामा भाइ पर्न गयो, तिमीले उसैलाई दोष लगायौ । पक्का ऊ नै हो भनिदियौ । थप्पड पनि लगायौ ।

हो नानी, थप्पड हान्नु नै तिम्रो गल्ति भयो भनि रहेका छन् , दर्शकहरुले । तिम्रो यहि गल्तिले नै हो, १०० % नै तिम्रो पक्षमा हुने समर्थक, दर्शक तथा मिडियाहरुलाई आफ्नो विपक्षमा उभ्याएको । लामालाई दोष लगाउनु, पछि प्रहरीमा बुझाउनु ठीकै थियो । यसमा कसैले पनि तिमीलाई गलत भनिरहेको छैन । बरु प्रहरीमा गएर राम्रै भयो । भाइले पनि नाइँ नास्ती केही नगरी तिम्रै कुरामा सहमत भइदियो ।

तिमी उदाउँदो तारा हौ । सबै माझ परिचित हुँदै गरेको सबैको साझा व्यक्तित्व हौ । दर्शक, मिडिया, पत्रकार, समर्थकहरूको भीडभाड आउने दिनमा अझ बढी तिमीलाई नै जरुरी छ, बरु लामालाई यस्ता कुराहरूको कुनै आवश्यकता छैन ।

आममानिसहरू तिम्रो विपक्षमा हुँदा पनि चलचित्रले व्यापार राम्रो गरेको छ, मुनाफा राम्रो छ । म त सफल नै भएको छु भन्ने मनमा लागेको भए तिमी गलत छौ । चलचित्रको व्यापार, मुनाफा, सफलता त निर्माता, निर्देशकहरूको कारण हो । हो, पर्दामा तिमी अगाडि छौ, दर्शकले चिन्ने तिमीलाई पनि हो । तिम्रो यही चिनारीलाई अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा तिमीले सकारात्मक बनाउनु जरुरी छ । सम्पूर्ण दर्शक समुदायलाई खुशी पार्नु जरुरी छ ।

नानु, तिम्रो ममतामयी आमाले पनि तिमीलाई प्रतिकारमा उत्रिनु भनेर हौसला दिनुभएको रहेछ । कुरा सही हो, गलत मनसायले, गलत स्थानमा, गलत व्यक्तिबाट आक्रमणमा परेको खण्डमा आमाको यो हौसला आवश्यक छ । त्यति बेला हाम्रो आवाज अवश्य पनि तिम्रै पक्षमा हुनेछ । तर, अहिले गुम्बाको लामा गुरुको मन कति धेरै रोएको छ, कति धेरै अशान्ति भइरहेको छ ।

देश बाहिर सिक्किममा समेत यस घटनालाई पूर्ण प्राथमिकता साथ त्यहाँका गुम्बाका लामाहरू अत्यन्त दुखित भएको खबरहरू पनि हामीले पायौं । थाइल्याण्ड, भियतनाम र अन्य देशहरूमा समेत तिम्रो यस दुःखद घटनाप्रति आवाजहरू उठेका छन् । हाम्रो देशभित्र भएको सानो सोचिएको यस घटनाको यसरी अन्तर्राष्ट्रियस्तरमै चर्चा चल्नु हाम्रो लागि राम्रो कुरा होइन । यसले भोलिका दिनहरूमा विकराल रूप लिएर जान पनि सक्छ । यसमा हामी मिलेर गम्भीर हुनु जरुरी छ ।

हजारौँ लामाहरूको मनमा ठूलो चोट लागेको कारणले गर्दा सिक्किमका लामाहरूको अनुरोधलाई सम्बोधन गर्दै त्यहाँको सरकारले चलचित्र प्रदर्शनीमा प्रतिबन्ध लगायो । तिमीलाई त यसको असर पनि पर्दैन, असर त उही निर्मातालाई पर्ने हो ।

बहिनी मिरुना, अहिले त तिम्रो उमेर पनि सानो छ । बिस्तारै उमेर पाको भएसँगै तिम्रो ज्ञानको ज्योतिले अन्तरमनको आँखा पनि एक दिन त खुलेर जाला । सल्लाह सबैको सुन्नु पर्छ तर, निर्णय चाहिँ सत्य नमर्ने गरेर आफ्नै स्वतन्त्र विवेकले गर्नुपर्छ ।

नानू, तिमी जीवनमा सफल त बनौला तर, जीवनको कुनै पनि घडीमा त्यस्तै अशान्ति र चिन्ताको रापले तिम्रो मन पनि जल्न सक्छ । त्यसबेला त्यो जलन एक्लै सहनुपर्छ । संसारमा जति दुःख कष्ट आफुले भोग्नु छ, त्यो सबैले एक्लै नै भोग्ने हो । त्यस कठिन अवस्थामा पनि तिमीलाई सल्लाह हौसला दिने त हुन्छन्, तर तिम्रो मनको पीडा भाग लगाएर कसैले लिने अवस्था हुँदैन ।

तिमी उदाउँदो तारा हौ । सबै माझ परिचित हुँदै गरेको सबैको साझा व्यक्तित्व हौ । दर्शक, मिडिया, पत्रकार, समर्थकहरूको भीडभाड आउने दिनमा अझ बढी तिमीलाई नै जरुरी छ, बरु लामालाई यस्ता कुराहरूको कुनै आवश्यकता छैन ।

लामा भाइको तर्फबाट जे जस्तो भए पनि उसले कति पनि ढिला नगरी सार्वजनिक रूपमा नै माफी मागिसक्यो । माफी मागेर कोही पनि सानो हुँदैन । माफी माग्नु त गुरुबाट सिकेको असल शिक्षा हो । सुसंस्कार र अनुशासनको पालना गर्नु हो । भाइले तिमीलाई देखाएको आदर, सम्मान हो । एक मित्रवत व्यवहारको निरन्तरता हो ।

यही महान गुणलाई आत्मसाथ गरेर त्यो लामा भाइसँग तिम्रो तर्फबाट पनि मित्रवत व्यवहार गरिदिए सम्पूर्ण लामाहरू तथा दर्शकहरू सबै सन्तुष्ट हुनेछन् । अहिले तिम्रो आलोचना विरोध गरिरहेको सम्पूर्ण दर्शक तिम्रै पक्षमा एक ढिक्का भएर उभिनेछन् ।

अब अन्त्यमा, एउटै मालाबाट चुँडिएर छरिएका फुलहरूलाई फेरी एउटै मालामा गाँसेर एक सुन्दर माला बनाए जसरी आफ्नो फराकिलो मन र खुल्ला हृदयले माफी मागेर सबै दर्शकहरूलाई एउटै मालामा गाँसेर सुन्दर माला बनाउन म विनम्र अनुरोध गर्दछु ।

हजारौंको भीडबाट तिम्रो एक शुभचिन्तक दाजु !!

छिरिङ शेर्पा, सिन्धुपाल्चोक