Breaking

मानवीय क्रुरताले नाङ्गिएको वन र बस्ती (फोटोफिचर)


काठमाडौँ — प्रकृतिमाथि जति आक्रमण गर्यो त्यति नै आक्रमण हामीलाई प्रकृतिले गर्छ । हामी जति प्रकृतिको दोहन गर्छौं, सजायस्वरुप प्राकृतिक विपद्का घटना बढ्दै जान्छन् । अर्थात् जब मानवता हराउँछ, तब प्रकृतिको स्वरुप पनि बदलिन्छ ।

प्राकृतिक स्रोतको दोहनले प्रकृति त कुरुप बन्छ नै, हाम्रो समाज र समाजमा रहेका प्राणीको पनि अस्तित्व सकिन्छ । किनभने प्रकृति नै नरहे मानिस र मानवताको अर्थ रहँदैन । मानिसले आफ्नो लाज छोप्न कपडा त लगाएका छन् तर प्रकृतिको अलौकिक गहना उतारेर प्रकृतिलाई नङ्ग्याइरहेका छन् ।

प्रकृतिमा रहेका मानिसले नै प्रकृतिलाई नष्ट गरिरहेका छन् । चुरे, नदीनाला, वन, वातावरणको दोहनका कारण अहिलेको समाज रङ हराएको छ ।

देशका मुख्य सहरको त कुरै छाडौं- गाउँका वन, जंगल पनि उजाड छन् । प्राकृतिक स्रोतको दोहनका कारण नै देशले अहिले जलवायु परिवर्तनजन्य विपद्को सामना गरिरहेको छ ।

समग्रमा भन्दा प्राकृतिक स्रोतहरु मासिँदै छन् । काठमाडौँ उपत्यकाको त कुरा नै गर्नु पर्दैन। हराभरा त छैन नै, टाढा डाँडाकाँडार वनजंगलहरुको समेत दोहन भइरहेको छ । ललितपुरका टीकाभैरव,नल्लु, देवीचौर र लेले क्षेत्रलाई यसको उदाहरणका रुपमा लिन सकिन्छ । यहाँस्थित वनजंगलभित्र पनि ढुंगा खानी र क्रसर उद्योगले वन फँडानी हुँदा उजाड छन् । यहाँबाट उभिएर हेर्दा डाँडापाखा पहिरोले बगाएझैं विरक्त देखिन्छन्। बस्ती बाढीले बगाएको बगरजस्तो छ ।

वर्षौंदेखि ढुंगा खानी र क्रसर उद्योगले यहाँको यस्तो हालत भएको हो। निजी जग्गामा सञ्चालित खानी र क्रसरले पछिल्लो समय सीमा मिचेर खोला र जंगल मासेका छन् । ढुंगा खानी निजी जग्गा छोडेर जंगल पसेपछि अवस्था विकराल बनेको छ ।

खानीले खोतलेको पहाडमा पछिल्लो समय अनगिन्ती पहिरो जाँदा जंगल मासिएको छ। तर पनि स्थानीय सरकार भने मौन छ । सरकारको मौनताले नै बुझ्न सकिन्छ कि देशका विभिन्न स्थानमा प्रकृतिमाथि कस्तो हस्तक्षेप भइरहेको होलारु सरकार, समाज र सरोकारवाला निकाय सबै मिलेर प्रकृतिको संरक्षण नगर्ने हो भने भावी दिनमा हराभरा भूमि बाँझो र कंक्रिट बन्ने अवस्था सिर्जना नहोला भन्न सकिँदैन । त्यसैले प्रकृति केवल मानव जातिका लागि बनेको हो भन्ने भ्रम छाडेर जगतका सबै प्राणीका लागि यसको संरक्षण गर्नेतर्फ लाग्नुपर्छ ।

न्युज एजेन्सी नेपालले तयार पारेको फोटो फिचर :