Breaking

माओवादी केन्द्रले समानुपातिक सूचीबाट महराको नाम हटायो


काठमाडौँ — नेकपा माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ । माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा महराको नाम १ नम्बरमा थियो । नेता महराकै आग्रहमा समानुपातिक सूचीबाट उनको नाम हटाइएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले महराकै आग्रहमा नाम हटाइएको जानकारी दिए ।

उहाँको नाम पहिले खस आर्यबाट १ नम्बरमा थियो । पछि उहाँले मलाई राख्न पर्दैन हटाइदिनुस् भन्नुभयो र उहाँको नाम हटाइयो,’ ढकालले भने । रोल्पा र दाङ क्षेत्र नं १ र २ मा प्रत्यक्षतर्फ पनि महराको नाम पहिलो नम्बरमै सिफारिस भएको थियो । तर उनलाई माओवादीले समानुपातिकको सूचीमा राखेको थियो ।

त्यसलगत्तै महराले पत्रकारहरुलाई प्रतिक्रिया दिंदै, आफूले धेरै पटक संसदीय निर्वाचनमा जितिसकेकाले अब नयाँलाई अवसर दिनुपर्छ भनेर आफू समानुपातिकको सूचीमा रहन तयार रहेको बताएका थिए । महराले २०४८ सालसहित अहिलेसम्म भएका सबै निर्वाचन जितेका थिए । २०४८ र २०७० सालमा रोल्पा तथा २०७४ सालमा दाङबाट महरा निर्वाचित भएका थिए । उनी २०६३÷६४ को अन्तरिम संसदमा समेत थिए ।