देश

माओवादीले फिर्ता लियो प्रदेश १ सरकारलाई दिएको समर्थन


काठमाडौँ – नेकपा माओवादी केन्द्रले प्रदेश १ को सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

आज माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री शेरधन राई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी प्रदेशसभा सचिवालयमा दिनुभएको हो । सरकारका गतिविधिविरुद्ध आलोचना गर्दै आएको माओवादी केन्द्रले बजेट अधिवेशनको पूर्वसन्ध्यामा सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । सरकारले बोलाएको प्रदेशसभाको अधिवेशन सोमबारबाट सुरु हुँदैछ ।

गएको पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरुद्धमा उभिएको तत्कालिन नेकपाको माओवादी र माधबकुमार नेपाल खेमाका मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए । सर्वोच्च अदालतले नेकपाको एकता भंग गरेपछि प्रदेशसभामा तत्कालिन नेकपा एमालेको एकल बहुमत रहेकोले मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारलाई कुनै संकट देखिएको छैन । तर माओवादीको यो निर्णयसँगै एमालेको माधवकुमार पक्षले साथ नदिए मुख्यमन्त्री राई अल्पमतमा पर्ने देखिएको छ ।

सरकारका गतिबिधिविरुद्ध आलोचक रहेको माओवादी केन्द्रले बजेट अधिवेशनको पूर्वसन्ध्यामा सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । सरकारबाट अलग भएको र सरकारका गतिबिधि आलोचनायोग्य रहेकोले प्रतिपक्षी भूमिका निर्वाह गर्न सरकारको समर्थन फिर्ता लिएको दलका नेता आङ्बोले बताउनुभयो ।

प्रदेशसभामा माओवादी केन्द्रका १५ सांसद छन् । सरकारबाट फिर्ता भएको माओवादी केन्द्रलाई प्रतिपक्षी बेञ्चमा राख्न संसद सचिवालयले व्यवस्थापन सुरु गरेको जनाएको छ। सोमबार अपरान्ह २ बजे प्रदेशसभाको आठौं अधिवेशन बोलाइएको छ ।