Breaking

महिला उम्मेद्वार किन प्रत्यक्ष निर्वाचन लड्न चाहँदैनन् ? ५० होइन ३३ प्रतिशत पुर्याउन हम्मेहम्मे


काठमाडौँ — आगामी प्रदेश सभा र संघीय सदस्यको निर्वाचनमा समावेशी सिद्धान्तको आधारमा समानुपातिक सहभागिता गराउनुपर्नेमा महिला नेतृहरुले जोड दिएका छन् । आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सदस्यको निर्वाचनमा उम्मेदवारी दिँदा महिलालाई समानुपातिक सहभागिता गराउनुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।

प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला उम्मेदवारलाई बढी अवसर दिनुपर्ने र जित सुनिश्चितताका लागि पनि राजनीतिक दलहरुले आफ्नो भुमिका खेल्नुपर्नेमा महिला नेतृहरुले जोड दिएका छन् । महिला नेतृहरुले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाँदा महिला सहभागिता कम देखिएको भन्दै प्रत्यक्ष निर्वाचन प्रणालीमा भने हरेक पार्टीहरुले महिललाई अघि सारेर जानुपर्ने बताए । महिलालाई प्रत्यक्षतर्फ प्रतिष्पर्धा गराएर पुरुषलाई समानुपातिकतर्फ ल्याउनुपर्नु उनीहरुको माग छ ।

उनीहरुले हरेक निर्वाचनमा क्रमशः महिलाहरुको निर्वाचित संख्या घट्दै गएकोले महिलाहरुको लागि राजनीतिक दलहरुले एक आपसमा समझदारी गरेर महिला नेतृ उठेको स्थानमा महिला नेतृलाई नै उठाउनुपर्ने माग गरेका छन् । प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसाल गौतमले संविधानको माग परिपूर्ति गर्नुपरेका कारण मात्रै महिलालाई समानुपातिक निर्वाचन प्रणालीमार्फत अवसर दिइएको बताइन् । उनले अझैपनि राजनीतिक दलहरुले प्रत्यक्षमा महिलालाई विश्वास गरेर उम्मेदवार बनाउन नसकेको गुनासो गरिन् ।

उनले महिलालाई समानुपातिक नभइ प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवार बनाउन र जित सुनिश्चित गर्न आवश्यक रहेको बताइन् । त्यस्तै नेकपा एमालेकी सांसद विन्दा पाण्डेले हरेक दलका महिला नेतृहरुले आफूले प्रतिष्पर्धा गर्ने निर्वाचन क्षेत्रबाट लड्छु भन्ने दाबी गर्न आह्वान गरिन् । उनले अहिले हुने निर्वाचनमा कम्तिमा पनि ५० प्रतिशत वा समानुपातिक महिला उम्मेदवारी दिने कुरा अहिलेका राजनीतिक दलहरुले गर्नुपर्ने बताइन् ।

उनले संविधानको रक्षा गर्न बनेको दाबी गर्दै आएको गठबन्धनको सरकारले यदी महिलालाई संविधानले भनेबमोजिम अधिकार दिएर संविधानको रक्षा गर्ने हो भने संवैधानिक व्यवस्थाअनुसार समानुपातिक संख्यामा महिलाहरुको पनि उम्मेदवारी दिनेकुरा सोच्नुपर्ने बताइन् ।

त्यस्तै नेपाली काँग्रेसकी महासमिति सदस्य एवं नेपाल महिला संघकी अध्यक्ष उषाकुमारी राउत मिश्रले कुनैपनि राजनीतिक दलले ५० प्रतिशतलाई उम्मेदवारी बनाउनैपर्ने बताइन् । उनले शक्तिशाली नेताहरुसँग महिलालाई प्रतिष्पर्धामा उतार्नु नहुने बताइन् । उनले समानुपातिक निर्वाचन प्रणालीबाट पुरुषलाई ल्याएर भएपनि महिललाई आगामी संघ र प्रदेशको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी र जित सुनिश्चितताको लागि राजनीतिक दलहरुले कदम चाल्नुपर्ने बताइन् ।


अध्यक्ष राउतले ५० प्रतिशत भन्दा बढी महिलाको जित सुनिश्चित गर्न पार्टीले भुमिका खेल्नुपर्ने बताइन् । उनले महिला निर्वाचनबाट चुनिएर नेतृत्वमा जाँदा देशमा सुशासन कायम हुने बताइन् ।