Breaking

फोहोर उठाउन महानगर नै निरिह,नाक छोपेरै हिड्न सुझाव


काठमाडौँ — काठमाडौँ महानगरको फोहोर पर्याप्तमात्रामा उठ्न सकिरहेको छैन । जसका कारण राजधानीको ठाउँ ठाउँमा फोहोरको डंगुर देखिन्छ । राजधानी शहरलाई सफा र स्वच्छ बनाउँने जिम्मेबार निकाय महानगर यसविषयमा लाचार बनेको छ । नेकपा एमालेका नेता डा. भीम रावलले भनेजस्तै काठमाडौँको फोहोरले राज्य संरचनाको प्रतिनिधित्व गरिरहेको छ ।

एकातर्फ राजनीतिको फोहोर छताछुल्ल अवस्थमा छ भने अर्कातर्फ महानगरमा फोहोरको डंगुरछ । काठमाडौँको फोहोरले महानगर र राज्य कतिसम्म निकम्मा र क्षमताहीन छ भन्ने दस्र्याउँछ ।काठमाडौँमा दिनहुँ कयौं झण्डाबाला गाडीहरु महानगरको सडकमा हुईकिन्छन् । तर उनीहरुलाई फोहोरको पहाड देख्दा पनि कुनै हीनताबोध छैन । चिल्लो गाडीभित्र मगमग बसाउने अत्तर छर्केर हिड्ने उनीहरुका लागि यस्ता फोहोरको डंगुरले कुनै वास्ता नै राख्दैन ।

फोहोर व्यवस्थापनको जिम्मा पाएको महानगरले फोहोर उठाइरहेको दावी गर्दा महानगरको अधिकांश स्थानमा अझै पनि फोहोरको थुप्रो देखिन्छ । दैनिक जति फोहोर उठ्नुपर्ने हो त्यति पर्याप्त मात्रामा उठिरहेको छैन । राजधानीमा फोहोरले तल्लातल्ला बनाइरहँदा यसको व्यवस्थापनमा महानगरले भने निरिहता प्रकट गरिरहेको छ ।

काठमाडौँ वासीहरुले अब महानगरले फोहोर उठाउँछ भन्नेमा नै विश्वास गर्न छोडिसके । उनीहरुलाई नयाँ नेतृत्वबाट पनि आश मरिसक्यो । महानगरमा जीवनयापन गर्नेहरु अब काठमाडौँको फोहोरमै रमाउने बानी पार्नुको कुनै उपाय नरहेको गुनासो गर्छन् ।

पछिल्लो घटनाक्रम र महानगरकै कुराले पनि राजधानीको फोहोर तत्काल उठ्ने देखिँदैन । महानगरलाई व्यवस्थित गर्न वर्षदिन जति लाग्ने मेयर बालेन शाहले प्रतिक्रिया दिइरहेका छन् भने सिस्डोल, बञ्चरेडाँडाका बासिन्दाहरुले पनि भदौ १ देखि फोहोर विसर्जन गर्न रोक लगाउने घोषणा गरिरहेका छन् । वर्षौदेखि काठमाडौँको फोहोरलाई अन्यत्र सारेर व्यवस्थापनको नाम दिँदा हामी सबैले पत्याईनै रहेका छौं । तर, अहिले त व्यवस्थापनको कुरा छोडौं त्यही फोहोर सार्न पनि महानगर चुकिरहेको छ ।

फोहोर उठाउने निकायले के बुझ्नुपर्छ भने फोहोर सारेर मात्रै व्यवस्थापन हुँदैन । त्यसले झन् कयौं समस्या पैदा गर्छ । यता मन्त्रीहुनु भन्दा अघि नै मेयरसँग मिलेर फोहोर व्यवस्थापन गर्छु भनेर प्रतिबद्धता जनाएको शहरी विकास मन्त्री मेटमणी चौधरी कहाँ छन् अत्तोपत्तो छैन । मन्त्री चौधरीले ३० दिने उपलब्धी सार्वजनिक गर्दै आफ्नो मन्त्रलय अरु मन्त्रलायभन्दा अब्बल रहेको दावी गर्दै गर्दा फोहोरले मच्चाएको बितण्डामा भने मौन छन् ।

यसरी कुरा मात्रै ठूलाठूला गरेर व्यवहारमा नतीजा शुन्य ल्याउने परम्पराले निरन्तरता पाउँदा जनता भने समस्या र फोहोर दुवैको डंगुरमा पिल्सिएका छन् ।