समाचार

महाकुलुङ गाउँपालिकाको परिवर्तित निशान छाप कार्यान्वयन नभएकोमा शेर्पा संघको आपत्ति


सोलुखुम्बु : सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले परिमार्जन गरेको निशान छाप कार्यान्यन नगरेको प्रति नेपाल शेर्पा संघले आपत्ति जनाएको छ ।

भर्खरै सम्पन्न् गाउँसभा र वडाहरूमा परिमार्जन गरेको नयाँ लोगो प्रयोग नगरिएको भन्दै नेपाल शेर्पा संघ महाकुलुङ गाउँपालिकाले विज्ञप्ती मार्फत आपत्ति जनाएको हो ।

पहिलो स्थानीय निर्वानपछि अघिल्लो वर्षदेखि कार्यान्वयनमा ल्याएको लोगो समावेशी नभएको भन्दै महाकुलुङका शेर्पा समुदायको प्रतिनिधित्व गर्दै महाकुलुङ शेर्पा संघले पटक पटक परिमार्जनको आवाज उठाएपछि परिमार्जित निशान छापमा बुद्धको फोटो थपिएको थियो ।

तर,अहिलेको गाउँसभा र वडा कार्यालयहरूमा परिमार्जन गरिएको लोगो कार्यान्यन नगरेको भन्दै शेर्पा संघ महाकुलुङ र गुदेल शेर्पा किदकले विज्ञप्ती मार्फत आपत्ति जनाएको छ ।

यसअघि चिण्डो, विनायो, ढोलक, अल्लो, मयूर, हिमाल, तालतलैया र नेपालको झण्डालाई समावेश गरेर लोगो तयार पारिएको थियो ।पछि शेर्पा समुदायको मागअनुसार परिमार्जन लोगोमा बुद्धको फोटो थपिएको थियो ।

अहिलेको निशान छापले गैरकुलुङ समुदायलाई समेट्नुको सट्टा कुलुङ समुदायको मात्रै प्रतिनिधित्व गरेको संघको ठहर छ । गाउँकार्य समितिका अध्यक्ष पासाङ छिरिङ शेर्पाद्धारा हस्ताक्षरित विज्ञप्तीमा स्थानीय सरकारले तयार पारेको आधिकारिक निशाना छाप अस्विकार गर्नेसमेत उल्लेख गरिएको छ ।

साथै, गैरकुलुङ जातीको पनि प्रतिनिधित्व हुने गरि परिमार्जन गरिएको निशाना छाप सार्वजनिक गर्न समेत माग गरेको छ । महाकुुङ गाउँपालिकाले प्रयोगमा ल्याएको निशाना छापको माथिल्लो भागमा नेपालको चन्द्र सुर्य अंकित झण्डा, त्यस मुनि हिमाल र ताल तलैया, दाँया बायाँतर्फ मयूरको प्वाँख र अल्लोको चित्र प्रयोग गरिएको छ ।

त्यस्तै ढोलक, चिण्डो, विनायो र मुर्चुङगालाई पनि समावेश गरिएको छ । तर, शेर्पाहरुको पहिचान झल्किने गरि पोङ तथा गुम्बा समेत समावेश गर्नु पर्ने शेर्पा सघंको माग रहेकोमा बुद्धको फोटो थपिएको थियो ।