अर्थनीति

महँगीको चपेटामा अर्थतन्त्र , एक महिनामा कस्तो छ बदलाव ?


काठमाडौँ — नेपाल राष्ट्र बैंकले बुधबार चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको रिपोर्ट सार्वजनिक गरेको राष्ट्र बैंकले समीक्षा अवधिमा उच्च दरमा बजार महँगी उपभोक्ता मुद्रास्फीति बढेको देखाएको हो । चैत मसान्तसम्म मुलुकको बजार महँगी बढेर ७।२८ प्रतिशत पुगेको रिपोर्टमा उल्लेख गरिएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा वार्षिक विन्दुगत आधारमा ४।१८ प्रतिशतले नै बढी हो ।

यद्यपि,चालु आर्थिक वर्षका लागि मौद्रिक नीतिले ६।५ प्रतिशतसम्मको मात्र मुद्रास्फीतिको सीमा राखेको थियो । बाह्य कारणको दबाब वस्तु तथा सेवाको आयातमा परेको प्रभाव सो मूल्यमा समेत पर्दा बजार महँगी बढ्न गएको हो । यस अवधिमा खाद्य तथा पेय पदार्थ घ्यू,तेल,दुग्ध पदार्थ तथा अण्डा,दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थमा २८।३६ प्रतिशतले मूल्यवृद्धिका कारण समग्र बजार नै महँगिन पुगेको बैंकको रिपोर्टले देखाएको छ । यस्तै,समीक्षा अवधिमा अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थ र सुनको मूल्यले समेत मूल्य वृद्धि हुँदा त्यसको प्रभाव नेपालमा समेत परेको बैंकले जनाएको छ ।​