राजनीति

मन्त्रालयको भागबण्डा नमिलेपछि देउवा तनावमा, कसको भागमा कति मन्त्री ? (भिडियोसहित)


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको १६ दिन वित्यो । तर मन्त्रिपरिषद् विस्तारले पूर्णता पाएको छैन ।

गठबन्धनमा आवद्ध दलहरुबीच भागबण्डामै कुरा अड्कीएपछि २० मन्त्रालय नेतृत्वविहिन अवस्थामा छन् । बरु गठबन्धनभित्रबाटै विरोधका आवाजहरु बाहिरिन थालेका छन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासंग जनताको खासै ठूलो अपेक्षा छैन । बस्, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै पदचाप नपछ्याईदिए हुन्थ्यो भन्ने मात्रै छ । विगतमा चारपटकसम्मको कार्यकाल गुजारेका देउवाबाट आशा गर्ने ठाउँ नहुँदानहुँदै पनि निवर्तमान प्रधानमन्त्री ओलीको स्वच्छचारी शासन ढाल्नकै लागि माओवादी केन्द्र र एमालेकै माधवकुमार नेपाल पक्षसहितका दलहरुले रातो कार्पेट ओछ्याएर देउवालाई स्वागत गरेका हुन् । तर पहिलो गाँसमै ढुंगा भनेझैं मन्त्रिपरिषद् विस्तारमा गरेको ढीलाई र स्वास्थ्य राज्यमन्त्रीको नियुक्तले देउवालाई पुनः पुरानै हैसियत देखाएको लख काट्न थालिएको छ ।

जसकाकारण पाँच दलीय गठबन्धनको समर्थनसहित सरकारको नेतृत्व गरिरहेका देउवालाई गठबन्धनभित्रैबाट विरोधका स्वरहरु बाहिरीन थालेका छन् ।बुधबार वालुवाटारमा बसेको गठबन्धनको बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलेदलहरुसंगको छलफलबिनै व्यापारी उमेश श्रेष्ठलाई राज्यमन्त्री बनाएको भन्दै देउवालाई साथ छोड्ने चेतावानी दिएका छन् ।त्यसबाहेक जनताले आफुलाई सरकारमा जाने मान्डेड नदिएको भन्दै जनमोर्चा सरकारमा नजानेसमेत स्पष्ट पारेका छन् । गठबन्धनले मन्त्रालय भागबण्डाको जिम्मा शीर्ष नेतालाई सुम्पिएको छ ।

प्रधानमन्त्री देउवाले मन्त्री बन्नेको नाम दिन गठबन्धनभित्रका दलहरूलाई आग्रह गरे पनि कसले कति नाम दिने र कसलाई कतिवटा मन्त्रालयको जिम्मा दिने स्पष्ट खाका बाहिर आएको छैन ।आकंक्षी धेरै र मन्त्रालय कम भएपछि नेताहरुको व्यवस्थापन र भागबण्डामा समस्या भएको शीर्ष नेताहरु नै बताउँन थालेका छन् ।

केही दिन अघिमात्रै माओवादी केन्द्रका अध्यक्षका पुष्पकमल दाहालले आफ्नो पार्टीका जम्माजम्मी ४९ सांसदले नै मन्त्री हुने रहर गरेर आफुलाई दबाब दिएको भन्दै दिमागमा आतंक चलेको बताएका थिए ।बढीमा ६ मन्त्रालय पाउने सम्भावना रहेको माओवादीले सकभर दुईदिनभित्रै मन्त्रीको नाम दिने तयारी गरेको छ । उस्तै तयारी जसपाको पनि छ । पार्टी विवादका कारण निर्वाचन आयोगमा पुगेर बल्लतल्ल आधिकारिकता पाएको उपेन्द्र यादव पक्षले आफ्नो भागमा पर्न सक्ने चार मन्त्रालयको टुङगो दुईदिनभित्रै लगाउनेमा प्रधानमन्त्री देउवालाई आश्वस्त पारेको छ । देउवालाई समर्थन गरेको एमालेको माधव पक्षलाई भने गठबन्धनका दलहरुले सरकारमा सामेल गराएरै छोड्ने अड्डी कसेका छन् ।बुधबारको बैठकमा पनि माधव पक्षसंग मन्त्रीहरुको नाम मागिएको थियो । तर पार्टीभित्र कारबाहीमा परिने डरका कारण यो पक्षले इच्छा व्यक्त गर्न नसके पनि गठबन्धनलाई पर्खिन आग्रह गरिरहेको छ । जसकै कारण माधव पक्षको भाग पर्ने ४/५ मन्त्रालय चाँबी छुट्याएर मन्त्रीमण्डल विस्तार गरिने गठबन्धनका दलहरुको तयारी छ ।

असार २९ मा कांग्रेसका २ र माओवादी केन्द्रका २ मन्त्रीसहित पदभार ग्रहण गरेका देउवाले सरकारमा १६ दिन व्यतित गरेका छन् । तर विवादित व्यक्तिलाई स्वास्थ्य राज्यमन्त्री बनाउनेबाहेक अन्य मन्त्रालयको टुङगो लाग्न सकेको छैन ।

कोरोना महामारीका बेला युद्वस्तरमा काम गर्नुपर्ने स्वास्थ्य मन्त्रालय नै फुल मन्त्रीविहिन बनेको छ । २० मन्त्रालय नेतृत्वविहिन रहँदा सरकारका कामकारबाहीमात्रै होइन, देउवाबाट पनि लछारपटार लाग्दैन भन्नेमा जनमत मत देखिन थालेको छ ।तर नेताहरु भागबण्डाकै सकसमा अल्झिएर अक्षमताको उदाहरण दिइरहेका छन् ।