Breaking

मनास्लु हिमपहिरोमा पुरिएर एकको मृत्यु, १० को सकुशल उद्धार


काठमाडौँ – मनास्लुको हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरामा परी बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ ।

हिमपहिरोस्थलबाट १० जनाको सकुशल उद्धार गरिएको छ । मृत्यु हुनेमा सङ्खुवासभाका अनुप राई रहेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

राईको शव आधार शिविरबाट निकालेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लैजाने तयारी भइरहेको उनले बताएका छन् । हिमपहिरोमा परेका अन्य १० जनाको सकुशल उद्वार गरिएको प्रहरीले जनाएको छ । सोमबार अबेरसम्म चारजनाको उद्धार गरिएको थियो । थप ६ जनाको मंगलबार बिहान उद्धार गरिएको बताए।

मंगलबार बिहानैदेखि हेलिकोप्टरमार्फत पुगेको उद्वार टोलीले हिमपहिरामा परेका निमादोर्जे शेर्पा, दावा शेर्पा, फुरिता शेर्पा, लाक्पा तामाङ, निमा शेर्पा र फुर्ते शेर्पाको उद्वार गरेर सामागाउँ ल्याइएको जनाएको छ ।

पहिरोमा परी उद्धार गरिएका दुई जनाको अवस्था सामान्य भएकाले उनीहरु आधार शिविरमै छाडिएको बताए । हिमपहिरोमा परेकाहको उद्वारका लागि मंगलबार बिहान सिम्रिक एयरको दुईवटा, कैलाश र एभरेष्ट एयरको एक–एक गरी चार हेलिकोप्टर परिचालन गरिएको थियो।