Breaking

मनसुन अन्तिमतिर : दिनप्रतिदिन वर्षाको सम्भावना घट्दै


काठमाडौँ — वर्षायाम अब सकिने बेला भएकाले दिनप्रतिदिन वर्षाको सम्भावना घट्दै गएको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार अब मनसुन अन्त्य हुन एक हप्ता पनि छैन । अर्थात् यही सेप्टेम्बर सकिएपछि मनसुन सकिन्छ ।

महाशाखाका अनुसार आधिकारिक रूपमा मनसुन आउँदो आइतबार (असोज १६ गते) सकिने तर अहिलेदेखि नै वर्षा हुने सम्भावना दिनप्रतिदिन घट्दै गएको जनाएको छ । महाशाखाका अनुसार केही दिनअघिसम्म दसैंको समय भारी वर्षा पनि हुने सम्भावना देखिएको थियो । तर अहिले त्यो सम्भावना नदेखिएको जनाएको छ ।

अहिले बिहान पनि खासै कतै वर्षा भइरहेको छैन । प्रदेश १ र बागमती प्रदेशका एक दुई ठाउँमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।