समाचार

मतगणना नसकिँदै अन्तिम नतिजा घोषणा भएको खुलासा


काठमाडौँ — महोत्तरीको बर्दिबास नगरपालिकाको एउटा वडामा अनौठो घटना भएको छ । स्थानीय तह निर्वाचन अन्तरगत बर्दिबास नगरपालिकाको वडा नम्बर ८ को मतगणना नसकिँदै अन्तिम नतिजा घोषणा भएको खुलेको छ । बर्दिबास नगरपालिका वडा नम्बर ८ को मतपरिणाम सार्वजनिक भइसकेपछि ढिला गरी एउटा मतपेटिका छुटेको खुलासा भएको हो ।

बर्दिबासका १३ वटा वडाको मतगणना सम्पन्नपछि अन्तिम वडाको मतपेटिका निकाल्ने क्रममा वडा नम्बर ८ को थप एउटा मतपेटिका फेला परेको निर्वाचन कार्यालय बर्दिबासकी सहायक निर्वाचन अधिकृत शर्मिला तामांगले जनाइन् । उनले मतदान निर्वाचन अधिकृतलगायत सबै दल तथा प्रतिनिधिहरुको समेत गल्ती रहेको स्वीकारिन् । बर्दिबास–८ स्थित बेलगाछीको २ वटा मतपेटिकामध्ये एउटा मतपेटिकाको मात्रै मतगणना भएको र अर्को मतपेटिका अर्कै वडामा फेला परेको उनले बताइन् ।