राजनीति

भ्रष्टाचारव्याप्त मुलुककै श्रेणीमा नेपाल


काठमाडौँ – भ्रष्टाचारसम्बन्धी सूचकांक निकाल्ने ट्रान्सपरेन्सी इन्टरनेसनलले गत वर्ष संसारभरका देशहरूको भ्रष्टाचारको स्थितिको सूचकांक सार्वजनिक गरेको छ । जसअनुसार नेपाल बढी भ्रष्टाचार हुने मुलुकमा दर्ज भएको छ । ट्रान्सपरेन्सीले सार्वजनिक गरेको सूचकांकअनुसार गत वर्ष भ्रष्टाचारमा नेपालले ३३ अंक पाएको छ ।

‘रिपोर्टअनुसार १८० देशमध्ये नेपाल भ्रष्टाचार हुने देशको ११७ औं स्थानमा रहेको छ । अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रुपमा लिन सकिने ट्रान्सपरेन्सीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

५० भन्दा कम अंक पाउनेलाई ट्रान्सपरेन्सीले बढी भ्रष्टाचार हुने मुलुक मान्छ । २०२१ मा दुईतिहाइ मुलुकले ५० भन्दा कम अंक पाई बढी भ्रष्टाचार हुने मुलुकका रूपमा रहेका जनाइएको छ । यस वर्षको औसत स्कोर ४३ छ । त्यसभन्दा कम अंक पाउनेलाई अति भ्रष्टाचार हुने मुलुकका रूपमा लिइन्छ । यही अंकका आधारमा ‘ र्‍यांक’ निकालिन्छ ।

सूचकांकअनुसार गत वर्ष डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्ड सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा सूचीकृत भएका छन् । ती मुलुकले सयमा ८८ अंक पाएका छन् । त्यस्तै सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा दक्षिण सुडान रहेको छ । ११ अंकसहित उक्त देश १८०औँ स्थानमा छ ।

सिपिआई २०२१ मा दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटान सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा छ । भुटानले ६८ अंक प्राप्त गरी २५औँ स्थानमा छ । त्यस्तै, माल्दिभ्स ४० अंकसहित ८५औँ, भारत ४० अंकसहित ८५औँ, श्रीलंक ३७ अंकसहित १०२औँ स्थानमा छ । पाकिस्तान २८ अंकसहित १४०औँ र बंगलादेश २६ अंकसहित १४७औँ स्थानमा छ । सार्कमा सबैभन्दा बढी भ्रष्टाचार भुटानमा रहेको ट्रान्सपरेन्सीले औँल्याएको छ । अफगानिस्तान १६ अंक प्राप्त गरी १७४औँ स्थानमा छ ।