राजनीति

भीम रावलको थ्रेटपछि नेम्वाङको चट्टानी अडानले ओली थप थ्रेटमा, यसकारण आवश्यक छ सर्वसम्मति (भिडियोसहित)


काठमाडौँ — नेकपा एमालेको जारी १०औं राष्ट्रिय महाधिवेशन अन्तर्गत सर्वसम्मत नेतृत्व चयनमा सहमति नजुट्दा पार्टी थप विवादको चङगुलमा फसेको छ । शनिबार सुरु भएको बन्द सत्र अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व चयनको सम्पूर्ण अधिकार दिने भन्दै टुंगिए पनि आइतबार बिहानैदेखि नेताहरू सहमतिको प्रयासमा लागिपरेका छन् ।तर प्रतिनिधिको विचार र विवेकमाथि नै हस्तक्षेप भएको भन्दै आलोचना भइरहेको छ ।

केपी शर्मा ओलीलाई नेतृत्व चयनको सम्पूर्ण अधिकार दिने भन्दै शनिबारटुंगिएको बन्दसत्रपछि आइतबार दिनभर जसो ओली र उनी निकट नेताहरु सर्वसम्मत नेतृत्व चयन गर्न अन्य नेताहरुसँग भेटेर छलफल गरे । सहमतिको विषय अध्यक्षको उम्मेद्वारी घोषणा गरेका भीम रावलमै आएर रोकियो । अध्यक्षको दाबी त्याग्न र सहमतिमा आउने गरि रावललाई नेताहरुले दबाब दिन थालेपछि विधि र प्रक्रियाको विपक्षमा नजाने भन्दै रावल अडिग बनिरहे । सर्वसम्मतिको नाममा एकजना व्यक्तिको तजबिजबाट राणा शासन जस्तो नियुक्ति र खारेजी हुँदा लोकतन्त्र र गणतन्त्रलाई देखाएर महाधिवेशनको यत्रो तामझाम किन गर्नुभन्दै रावलसहितका केही नेताहरुले आपत्ति जनाइरहेका छन् ।

सर्वसम्मतिमा नेतृत्व चयन नभएर निर्वाचनमा गए भीम रावलसहितका असन्तुष्टपक्ष पराजित हुने पक्कापक्की छ । पूर्वमाओवादी समुहसमेत निर्वाचनमा पराजित हुनेछ । पार्टीभित्रको बलियो संस्थापन पक्षबाहेकअरुले हार स्वीकार्नुको विकल्प छैन । यसैकारण पनि ओली पार्टीभित्रको तीन मनोविज्ञानबीच सन्तुलन मिलाएर एकताको सन्देश दिने गरि सर्वसम्मत नेतृत्व चयन खोजिरहेका छन् ।महाधिवेशनमा एक भएर गए आगामी आम निर्वाचनमा समेत एमाले एकभएर जाने सम्भावना रहन्छ । तर नेतृत्वका लागि अहिले नै चुनावमा भिडे पार्टीभित्र ध्रुबीकरणको जोखिम आउनेछ । फलतः उनी पार्टीभित्र प्रतिस्पर्धा नभई एकता मुख्य भएको दाबी गरिरहेका छन् ।

पदाधिकारीमा माग दाबी गरिरहेका असन्तुष्ट पक्षसहित पूर्वमाओवादीकोपदीय बाँडफाँड ओलीका लागि चुनौतीपूर्ण छ । त्यो भन्दा नि सकसपूर्ण आफ्नै समुहभित्र छ ।ओलीले सर्वसम्मत नेतृत्व चयनका लागिपहिले आफ्नै समुहमा छलफल गर्दा ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्षका रुपमा अघि सारेपछि सुवास नेम्वाङ भड्कीए । नेम्वाङले आफुले ओलीलाई मात्रै नेता मानेको र अरुलाई वरिष्ठ उपाध्यक्ष स्वीकार्ने अवस्था आए पद नै खारेज गरिदिन शेरधन राईमार्फत सन्देश पठाए ।

ओली समुहभित्रवरिष्ठ उपाध्यक्षसहित महासचिवका लागि भिडन्त चलेको छ । विष्णु पौडेल र शंकर पोखरेलमध्ये कसलाई महासचिव बनाएर अघि बढ्ने ओलीका लागि चुनौतीपूर्ण छ ।ओली एमालेभित्र अझै ‘सर्वशक्तिमान’ मानिन्छन् । तर, पदाधिकारीहरुको सर्वसम्मत छनोटमा संस्थापनभित्रै जुन किचलो र उनी निकटकै नेताहरुले उनको आग्रह स्वीकार नगर्ने स्थिति सिर्जना भएको छ, त्यसले उनको ओज विस्तारै कमजोर हुँदै गएको संकेत गरेको छ ।