समाचार

भारतीय आँप बजारमा : स्वास्थ्यविद् भन्छन्, विष बराबर (भिडियोसहित)


काठमाडौँ – रसायन हालेर पकाइएको भारतीय आँप तराईका जिल्लाहरुमा खुलेआम विक्रि हुने गरेको छ । अनुगमनकारी निकायको वेवास्थाको कारण उपभोक्ताहरु मन्द विषको सिकार बनिरहेका छन् । कारवाइड नामक रसायन हालेर पकाइएको आँप खाँदा स्वास्थ्यमा गम्भीर प्रतिकूल असर पर्ने स्वास्थ्यविद् बताउँछन् ।

तराईका स्थानीय बजारमा खुलेआम रसायन हालेर पकाइएको भारतीय आँप विक्रि हुने गरेको छ । खासगरी प्राकृतिक रुपमा आँप पाक्ने समय असार महिनाको अन्त्यदेखि भएपनि स्थानीय बजारमा भने बैशाख सुरु भएदेखि नै आँपको बिक्री हुन थालेको थियो । तराइका जिल्लाहरुमा अहिले बिक्रि हुने गरेका आँप अधिकांश भारतबाट ल्याइएको पाइएको छ । रसायनद्धारा पकाइएको भारतीय आँपको परीक्षण नहुँदा उपभोक्ताहरु विषाक्त आँप खान बाध्य छन् । यस्ता आँपले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर गर्ने स्वास्थ्यविद्हरु बताउँछन् ।

स्थानीय व्यापारीले बढी मुनाफा लिन भारतबाट आउने यस्ता काँचो आँपमा कारवाइड नामक रसायन राखेर २४ घन्टामै पकाएर बिक्रीका लागि बजारमा लाने गर्दछन् । स्थानीय ब्यापारीहरुको मागमा खासगरी छिमेकी मुलुक भारतको दिल्ली लगायतबाट सीमावर्ती क्षेत्रबाट काँचो आँप ल्याउने गरिन्छ । यसरी मगाइएको काँचो आँप गोदाममा भण्डारण गरि २४ घण्टा सम्म कारवाइड नामक हानिकारक रसायनमा राखेर पाकिसकेपछि साना ब्यापारीहरु मार्फत ठेला, साइकल र टोकरीमा राखेर बिक्रीका लागि विभिन्न बजारहरु पठाइने गरेको छ । नेपालको नाकामा रहेका सुरक्षाकर्मी र भन्सारका कर्मचारीलाई उनीहरूले नै तय गरेको केही निश्चित रकम तिरेर विभिन्न नाकाहरु हुँदै सर्लाहीका बजारहरुमा आँप बिक्रीका लागि ल्याउने गरेको व्यापारीहरु बताउँछन् ।

बजारमा अहिले छ्याप्ती–छ्याप्ती रुपमा कारवाइड नामक विषादी हालेर पकाएको आँप आएकोले त्यस्तो आँप खादा पेट दुख्ने, आँखामा चिलाउने, मुटुमा प्रभाव पार्ने, जिब्रो टर्रो हुने, स्वाद नआउने जस्ता समस्या देखिएको चिकित्सकहरुको भनाई छ । भारतबाट काँचो आँप ल्याएर यहाँका गोदामहरुमा भण्डारण गरी रसायन हालेर पकाइएका यस्ता मन्द विषयुक्त आँप अहिले बजारमा प्रतिकिलो रु सयदेखि एक सयको २ किलो बिक्री हुने गरेको छ ।
प्राकृतिकरुपमा पाक्नुभन्दा पहिले नै बढी आर्थिक लाभ लिन रसायन हालेर काँचो आँपलाई कृत्रिमरुपमा २४ घण्टामै पकाएर बिक्री गरिएपनि सरोकारवालाको यसप्रति ध्यान पुगेको देखिंदैन । यस्ता आँप खाँदा स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुँदा बिक्री वितरणमा सम्बन्धित निकायले रोक लगाउनुपर्ने नागरिक अगुवाहरुले बताउने गरेका छन् ।