खेलकुद

भारतमाथि पाकिस्तानको ऐतिहासिक जित, भारत १० विकेटले पराजित


काठमाडौँ – पाकिस्तानले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा ऐतिहासिक जित निकालेको छ । दुबईमा गएराति भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानले सुखद सुरुवात गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले दिएको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७ ओभर ५ बलमा बिना विकेटको क्षतीमा पूरा गरेको हो । पाकिस्तानको जितमा कप्तान बाबर आजम र मोहमद रिजवानले अर्धशतकीय इनिङ्स खेले । रिजवानले ७८ र आजमले ६८ रनको योगदान दिए ।
यसअघि पाकिस्तानले विश्वकपमा भारतलाई हराउन सकेको थिएन । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नै भारतको यो खराव प्रदर्शन हो । भारत योभन्दा पहिले १० विकेटले पराजित भएको थिएन ।
भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । उसका लागि कप्तान विराट कोहलीले अर्धशतकीय इनिंस खेलेका थिए । कोहलीले ४९ बल खेल्दै ५७ रन बनाएका थिए, त्यस्तै रिशभ पन्तले ३० बलमा ३९ रन बनाउँदा रवीन्द्र जडेजाले १३ बलमा १३ रन नै बनाएका थिए ।
सुरुदेखि नै दवावमा राखेको भारतका व्याट्सम्यानलाई चल्न नदिन शाहीन अफ्रीदीले तीन विकेट लिए । हसन अलीले दुई विकेट लिँदा शदाब खान र ह्यारिस रौफले एक एक विकेट लिएका थिए ।