Breaking

भागबण्डाले संकटमा दर्जन नेता, रामचन्द्रदेखि विश्वप्रकाशसम्म टिकट नपाउने लाइनमा, ओलीका अघि हाँसो


काठमाडौँ — अबको झण्डै एक सय दिनपछि देश मुल नेतृत्व परिवर्तनका लागि निर्वाचनमा जाँदैछ । यसका लागि अहिलेदेखि नै चुनावी रस्साकस्सी सुरु भएको छ । दलहरु शक्ति बढाउने भागदौडमा केन्द्रीत बनेका छन् । एउटाको नेतृत्व एमालेले गरेको छ भने, अर्काे सत्ता गठबन्धनले गरेको छ । तर भागबण्डाको विषय गठबन्धनका लागि निकै सकसपूर्ण बनेको छ ।

बिहिबार च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नै कमाण्डमा एक्लै चुनावमा जाने तयारी गरिरहेका बेला बालुवाटारको प्रधानमन्त्री कोठीमा त्यही समयमा पाँच दलले भागबण्डाको रस्साकस्सी चलाइरहेका थिए । भाग राजनीतिको अभ्यासमा रहेका दलहरुबीच प्रमुख चार विषयलाई आधार बनाएर चुनावी भागबण्डाको गाँठो फुकाउन जोरजुलम गरिएको थियो ।

मुख्यतः २०७४ को प्रतिनिधिसभामा जितेको सिट संख्या, समानुपातिकतर्फ पाएको मत र स्थानीय तहको मतपरिणामसँगै शीर्षसहितका प्रभावशाली नेताहरुको जितलाई सुनिश्चित गर्ने गरि आधार बनाउन खोजिएको थियो ।

२०७४ मा काँग्रेसले प्रत्यक्षतर्फ २३ सिटसहित ६३ पु¥याएको थियो । नेकपा माओवादी केन्द्रले एमालेसँगको तालमेलमा ३६ प्रत्यक्षसहित ५४ सिट बनाएको थियो ।एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीसँग अहिले प्रत्यक्ष १२ सिट कायम रहेको छ ।जसपाको ८ र जनमोर्चाको एक सिट छ ।

गठबन्धनको कार्यदलले भागबण्डाको मुख्य आधार यसैलाई मान्दा विगतमा जितेका निर्वाचन क्षेत्रमै ततः दलको हक रहनेछ । एमालेले जितेका १२१ सिटमा भने दलहरुले भागबण्डा गर्नेछन् ।तर यसो गर्दा प्रभावशाली मानिएका तर विगतमा चुनाव हारेका नेताहरुको व्यवस्थापनमा गठबन्धनलाई निकै ठूलो संकट आउनेछ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँको क्षेत्र नम्बर एकबाट नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ (किशान)ले पराजित गरेका थिए । अब त्यो क्षेत्रमा गठबन्धनले भागबण्डा मिलाउँदा पौडेलले छोड्ने कि श्रेष्ठले छोड्ने निकै ठूलो चुनौती छ । झापा १ बाट वामगठबन्धनका उम्मेदवार राम कार्कीले नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई हराएका थिए ।

माओवादी केन्द्रले विगतमा निर्वाचित क्षेत्र दाबी गर्दा शर्माले छाड्ने वा अर्काे क्षेत्रबाट चुनाव लड्ने अवस्था आउन सक्छ । तर शर्मा आफ्नै क्षेत्रमा चुनावी तयारी चलाइरहेका छन् ।उसो त झापामै कृष्णप्रसाद सिटौलाकोभविष्य पनि जोखिममा छ ।काँग्रेस प्रवक्ता प्रकाशशरण महत यसपाली नुवाकोट एकबाट चुनाव लड्ने तयारीमा छन् ।

गत निर्वाचनमा दाजु रामशरण महतले माओवादी केन्द्रका नेता हितबहादुर तामाङले हार ब्यहोरेका थिए । काठमाडौं पाँच छोडेर गृहजिल्लामै हानिएका महतले माओवादीसँग भागबण्डा मिलाउन सकसपूर्ण छ । सबैभन्दा ठूलो भिडन्त सिन्धुपाल्चोक एकमा हुने देखिएको छ । सभामुखको जिम्मेवारीमा रहेका अग्नि सापकोटा माओवादीबाट निर्वाचित हुँदा काँग्रेसका मोहनबहादुर बस्नेत पराजित भएका थिए । अहिले आफुले टिकट नपाएर पुनः सापकोटाले पाए विद्रोह गर्ने चेतावनी बस्नेतले दिएका छन् ।

डोटीमा काँग्रेसका वीरबहादुर बलाएर र एकीकृत समाजवादीका प्रेम आलेबीच टकराव छ । ललितपुर ३ मा माओवादीकी पम्फा भुसाल र काँग्रेसका मदन आमात्यको संघर्ष छ । जाजरकोटमा माओवादीबाट निर्वाचित शक्ति बस्नेतले काँग्रेसका राजिवविक्रम शाहीलाई छोड्ने अवस्था छैन । गत निर्वाचनमा काँग्रेस नेता विमलेन्द्र निधी लोसपाका नेता राजेन्द्र महतोसँग पराजित भएका थिए । लोसपा गठबन्धनमा सामेल भए निधिले टिकट पाउनै मूस्किल छ । तथापी सत्ताको नेतृत्व र सांगठिक हिसावले बलियो भएका कारण अन्य दल काँग्रेससँग दबाबमा रहनेछन् ।

पहिले जितेका स्थानमा जितेकै दललाई दिने र हरेका नेताहरुलाई समेत सम्बोधन गर्न सके भागबण्डा सहजै मिल्न सक्छ ।किनकि काँग्रेस र माओवादीबीच विगतदेखि नै समन्वयकारी भूमिका खेल्दै आएका र सफल पनि भएका नेता कृष्णप्रसाद सिटौला कार्यदलको संयोजक बनेका छन् ।

माओवादीसँगका हरेक सम्झौता र सहकार्यको तालमेल गर्दा काँग्रेसमा सिटौलाको नाम पहिलो बनेर आउँछ । त्यसबाहेक असोज २ र ३ गतेसम्म समानुपातिक तर्फको बन्दसूची पेश गर्नै पर्ने कार्यतालिका निर्वाचन आयोगले निर्धारण गरेकाले त्यो भन्दा अघि नै भागबण्डा मिलाउनुपर्ने दबाबमा दलहरु परेका छन् ।