बिजनेस

ब्याजदरमा केन्द्रीय बैंकको हस्तक्षेप प्रति बैंकहरुको असन्तुष्टी (भिडियोसहित)

दोहोरो अंकका बैंक नचाहिने वित्तीय विश्लेषकको भनाई


काठमाडौँ – वाणिज्य बैंकहरूले आफूखुसी निक्षेप ब्याजदर बढाएपछि राष्ट्र बैंकले हस्तक्षेप नै गर्यो । केन्दीय बैंकको यो हस्तक्षेप प्रति बैंकहरुले असन्तुष्टि देखाए पनि नेपालमा दोहोरो अंकका बैंक नचाहिने वित्तीय विश्लेषकले बताएका छन् । कार्तिक १ गते देखि लागु हुने गरी विभिन्न १४ वाणिज्य बैंकहरुले निक्षेपको व्याजदर सिंगल डिजिट बाट साढे ११ प्रतिशत सम्म पुर्याए । त्यसको प्रत्यक्ष असर शेयर बजार देखि समग्र अर्थतन्त्रमा पर्न सुरु गरिहाल्यो ।

लगत्तै मंगलवार साँझ केन्दीय बैंकले ब्याजदर बृद्धिमा हस्तक्षेप गर्दै ब्याजदर घटाउने नीतिगत व्यवस्था गरीदियो । अब बैंकहरुले ब्याजदर परिवर्तन गर्दा अघिल्लो महिनाको तुलनामा १० प्रतिशतभन्दा बढी बढाउन वा घटाउन पाउने छैनन् । यस्तै व्यक्तिगततर्फको मुद्दती निक्षेपको ब्याजदर संस्थागतभन्दा १ प्रतिशत बिन्दुले बढी हुनुपर्ने छ । केन्दीय बैंकको यो हस्तक्षेपप्रति बैंक हरुको असन्तुस्टी देखिए पनि अर्थतन्त्र मजवुद पार्न हस्तक्षेप अपरिहार्य रहेको विज्ञले बताएका छन् । पूर्व बैंकर्स किशोर महर्जन निक्षेपको व्याज बढ्दा कर्जाको व्याज पनि बढ्ने हँुदा यसले समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने बताउछन् । कोरोनाले तहस नहस बनाएको व्यवसायलाई व्याजदर बढ्दा प्रत्यक्ष असर पर्ने हुदा केन्द्रीय बेंकको नियर्ण सकारात्मक भएको उनको बुझाई छ ।

यता, ब्याजदर निर्धारणमा राष्ट्र बैंकले कडाइ गरेको भोलिपल्ट अर्थात् बुधबार सेयर बजारमा हरियाली छायो । वाणिज्य बैंकहरुले मनपरी ढंगले निक्षेपमा ब्याजदर निर्धारण गरेपछि ओरालो लागेको सेयर बजार बुधबार भने ६० अंकले उकालो लागेको छ । शेयर बजारलाई नितिगत व्याबस्थाले प्रत्यक्ष प्रभाव पर्ने गर्छ । त्यसमा पनि केन्द्रिय बैंकले जारी गर्ने विभिन्न नीतिले अझ बढी प्रभाव पर्ने गरेको छ । यसलाई सकारात्मक रुपमा लिनु पर्ने कतिपयको बुझाई छ ।

यता निक्षेप संकलनको होडमा ब्याजदर युद्धमा लागेका वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकको निर्देशनपछि झट्का भने लागेको छ । १० प्रतिशत भन्दा बढी व्याजदर बढाउने १४ वटा वाणिज्य बैंकले बुधबार नै ब्याजदर संशोधन गरी सकेका छन । यसरी असोज महिनाको तुलनामा कात्तिक महिनामा सबैभन्दा धेरै ब्याजदर बढाउने बैंकमा लक्ष्मी बैंक छ । बैंकले ३० प्रतिशत ब्याजदर बढाएको छ । अन्य बैंकले पनि व्याजदर आक्रमक रुपमा बढाएका थिए । ब्याजदरमा परिवर्तन नगर्ने बैंकहरुमा एभरेष्ट, ग्लोबल आइएमई, प्रभु, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक छन् ।