Breaking

बारा बस दुर्घटना: मृत्यु भएका १६ मध्ये १४ जनाको सनाखत


काठमाडौँ — बाराको जितपुर-सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा बस दुर्घटनामा परी मृत्यु हुने १६ मध्ये १४ जनाको सनाखत भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका-२ बस्ने लिलाराज चौधरी, चितवनको खैरहनी नगरपालिका-५ बस्ने नन्दकुमारी पुडासैनी, चितवनको कालिका नगरपालिकाका सफल कडेल, पर्साको वीरगन्ज महानगरपालिका-१६ बस्ने सोमप्रसाद चौरासिया, वीरगन्ज महानगरपालिका–१६ कै मुन्नीदेवी चौरासिया छन ।

त्यस्तै हेटौंडा उपमहानगरपालिका–७ की शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी स्वस्तिका श्रेष्ठ, बारा कलैया–१० का नाजलिन खातुन, बारा अमलेखगन्जका सुरेश विक, बारा कलैयाका इताजत अन्सारी, ओखलढुंगाका लालबहादुर बोगटी, चितवन खैरेनी नगरपालिका( ५ का मनोरथ पुडासैनी, गोरखाकी अम्बिका काडेल र धनुषा जनकपुर उपमहानगरपालिका( ५ बस्ने सन्तोषकुमार राय छन् ।

हेटौंडा अस्पतालमा शव रहेका दुई जनाको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। बसमा सवार यात्रु संख्या यकिन हुन नसके पनि झन्डै ५० जना रहेको प्रहरीले अनुमान गरेको छ । नारायणघाटबाट पथलैया हुँदै वीरगन्ज जाँदै गरेको बा ०६–००१ ०११० नम्बरको बस जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगन्जमा दुर्घटना भएको हो । चिप्लो बाटो र घुम्तीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ। बस सडकबाट चिप्लिएर सय मिटर तल खसेको थियो ।