राजनीति

बागमती प्रदेश सभाको बैठक आज बस्दै


काठमाडौँ – आज बागमती प्रदेशको प्रदेश सभा बैठक बस्दै छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक दिउँसो १ बजे बोलाइएको हो ।

सत्तारुढ नेकपा (एमाले) ले भने बैठकमा उपस्थित नहुने बताएको छ । पालिका अधिवेशनको तयारीमा रहेको भन्दै एमालेले बैठकमा सहभागी हुन नसक्ने बताएपछि आज मत विभाजन हुने निश्चित भने छैन । एमालेले ११ गतेसम्मका लागि बैठक सार्न आग्रह गर्दै सभामुखलाई पत्रसमेत पठाएको छ ।

गत भदौ २ गते मुख्यमन्त्री बनेकी शाक्य केही दिनमै प्रदेश सभामा अल्पमतमा परेकी थिइन् । तत्कालीन एमाले १३ जना सांसदहरूले माधवकुमार नेपालको नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० पार्टी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा छन् ।

अल्पमतमा परेपछि मुख्यमन्त्री शाक्यले असोज २३ गतेको प्रदेश सभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरिसकेकी छन् । उक्त प्रस्तावबारे आज छलफल र मत विभाजन हुने गरी बैठक बोलाइएको हो ।

१०९ जना प्रदेश सभा सदस्य रहेका बागमती प्रदेशमा विश्वासको मत पाउन ५५ सांसद आवश्यक हुन्छ तर सत्तारुढ एमालेसँग ४३ जना सांसद मात्रै छन् ।