देश

बर्षा शुरु भएपछि काठमाडौंमा रोपाईँको रौनक (भिडियोसहित)

बढी उत्पादन हुने लोभमा स्थानीय जातलाई छोडेर बर्णशंकर हाइब्रिड विकासे धान लगाउदा स्थानीय धानको जात मासिएको अगुवा किसान बताउँछन् ।


काठमाडौँ – मनसुन भित्रिए सँगै काठमाडौँ उपत्यका भित्रका किसानहरुलाई धान रोप्ने चटारो बढेको छ ।
तर पछिल्लो समय काठमाडौँको धानफल्ने फाँट खुम्चिदै गएको र विकासे धान लगाउदा स्थानीय धानको जात मासिदै गएको भन्दै अगुवा किसान चिन्तित हुन थालेका छन् ।

काठमाडौँ उपत्यका धेरै उब्जनी हुने माटो भएको ठाउँ भन्ने बुझाई छ । बढ्दो शहरीकरणले धान फल्ने खेतमा घरै घर ठडिएका छन् । तर उपत्यकाको काँठ क्षेत्रमा अझै खेति योग्य जमीन बाँकी छ । यिनै काँठ, ढाप र डोलहरुमा धान रोपाइँ सुरु भएको छ । उपत्यकाको अधिकांश क्षेत्रमा ताइचिन र मन्सुली (खुमल ४) धान लगाउने चलन छ । यसका साथै खुमल ११ र डोल क्षेत्रमा स्थानीय एक्ले धान लगाउने चलन छ । काठमाडौँमा प्रख्यात रहेको पोखरेली मसिनो र थापचिनी धान हराइसकेको छ । काठमाडौँका धानफल्ने फाँट खुम्चिदै गएका छन् । यसलाई खुम्च्याउन तरकारी खेतीका टनेल, कुखुरा बंगुर–सुँगुर पालनले पनि सहयोग गरेका छन् । पछिल्लो समय काठमाडौँको धानमा बर्णशंकर बिउले बिकृति ल्याएको किसानहरुले बताएका छन् । बढी उत्पादन हुने लोभमा स्थानीय जातलाई छोडेर बर्णशंकर हाइब्रिड विकासे धान लगाउदा स्थानीय धानको जात मासिएको अगुवा किसान बताउँछन् ।

स्थानीय जातको धान हराउदा धान चामलसँग जोडिएको संस्कृति पनि हराएको अगुवा किसानको दुखेसो छ । यसको अर्को अशर स्थानीयबासीको पोषण चक्र समेत भत्किएको छ । उब्जनी हुने ठाउँमा यसपालिको धान रोपाइँ बिगत वर्ष जस्तो छैन । कोरोना संक्रमणको जोखिमका बीच रोपाइको काम गर्नु परेको छ । संक्रमण हुने डरले खेतमा काम गर्ने खेताला समेत पाउन मुस्किल भएको छ ।

यतीबेला कोरोना संक्रमण रोकथामका लागि काठमाडौँ उपत्यकामा जेठ ३१ गते सम्म निषेधाज्ञा लम्बयाईएको छ । निषेधाज्ञाले घरबाट खेत सम्म आउनजान तथा मल विषाधि किन्न समेत समस्यामा परेको किसानहरुको गुनासो छ । एकातिर खेतीयोग्य जमिन कंक्रिटको भवनले ढाकिनु र अर्कातिर आधुनिक कृषी उपज र सुविधातर्फ पनि राज्यले ध्यान नदिनुको चेपुवामा काठमाडौँ उपत्यका परेको छ ।