अर्थनीति

बजेट नीजि क्षेत्र मैत्री भएको भन्दै व्यवसायी उत्साहित (भिडियोसहित)


काठमाडौँ – सरकारले आगामी आर्थिक बर्षका लागि साना तथा मझौला उद्योगलाई दिने सहुलियत कर्जाका लागि १३ अर्ब रुपैया बजेट विनियोजन गरेको छ । साथै यसअघि देखि सञ्चालनमा रहेको सहुलियत कर्जाको दायरा फराकिलो बनाउदै व्यवसाय कर्जा कार्यक्रमलाई पनि निरन्तरता दिएपछि साना तथा मझौला व्यवसायी उत्साहित भएका छन् ।।

सरकारले साना तथा मझौला व्यवसायीका केही मागलाई सम्बोधन गरेको र त्यसले कोभिडको मारमा परेका व्यवसायीहरुले राहत महसुस गरेको साना तथा मझौला व्यवसायी महासंघ नेपालले बजेट नीजि मैत्री भएको भन्दै स्वागत गरेको छ । सरकारले प्रस्तुत गरेको आ.व. २०७८/०७९ को बजेटको सम्बन्धमा प्रतिक्रिया दिदै बजेट नीजि क्षेत्र मैत्री भएको भन्दै व्यवसायी उत्साही बनेका छन् । युवा उद्यमीलाई कर्जा दिने, नव उद्यमीलाई वित्तिय सघाउ गर्न १ अर्बको च्यालेन्ज फण्ड स्थापना गर्नु बजेटको राम्रो पक्ष भन्दै स्वागतयोग्य भएको बताएका हुन् ।

यस्तै होटल संघ नेपालले होटल व्यवसायको क्षेत्रलाई उत्पादनमुलक उद्योग सरह मान्यता दिनु सकारात्मक भएको प्रतिक्रिया दिएको छ । कोभिड १९ महामारीमा होटल व्यवसाय मारमा परेको अवस्थामा यस क्षेत्रको केही कुरा बजेटले सम्बोधन गरेको भन्दै पर्यटन क्षेत्रको विकासलाई सघाउ पु¥याउने संघको विश्वास छ ।

यता नाडा अटोमोवाइल्स् एशोसिएसन अफ नेपालका अध्यक्ष कृष्ण दुलालले बजेटले व्यवसायलाई उत्साहजनक बनाउने र व्यवसाय गर्न अथवा उद्योग खोल्न प्रोत्साहन गरेको बताएका छन् । विद्युतिय सवारी साधनको कर हटाउनु, पुर्नकर्जा दिनु लगायतको काम सकारात्मक रहेको उनको भनाई छ । व्यवसायको क्षेत्रमा सरकारले प्रशासनिक सुधार पनि गर्न खोजेको उनको बुझाई छ ।

सरकारले स्थानीय तहमा रहेका कृषि शाखाहरुलाई पनि बलियो बनाउनुपर्नेमा साना तथा मझौला उद्योगीहरुले जोड दिएका छन् । यस्तै घोषित नीति कार्यक्रमहरु स्थानिय तहमार्फत् कार्यान्वयन गर्न सकिएमा केही आशा गर्न सकिने उनीहरुको बुझाई छ ।