विदेश

फेसबुकले बालबालिका र प्रजातन्त्र नै खतरामा


काठमाडौँ – फेसबुककी एक पूर्वकर्मचारीले कम्पनीको वेबसाइट र एप्लिकेशनले बालबालिकालाई हानी गरिरहेको, विभाजनलाई बढावा दिएको तथा प्रजातन्त्रलाई कमजोर बनाएको बताएकी छिन् । ३७ वर्षकी फ्रान्सिस हाउगनले अमेरिकी सांसदसँगको बयानमा फेसबुक र त्यसका एप्लिकेशनहरु बालबालिका, समाज र प्रजातन्त्रका लागि हानिकारक रहेको बताएकी हुन् ।

फ्रान्सिसले फेसबुकमा प्रोडक्ट म्यानेजरका रुपमा काम गरेकी थिइन् । उनले फेसबुकका गोप्य जानकारीहरु सार्वजनिक गरेकी थिइन् । अमेरिकी संसद्मा भएको सुनुवाइको क्रममा फ्रान्सिसले फेसबुकको कडा आलोचना गरेकी हुन् ।
फेसबुकले भने फ्रान्सिसले आफ्नो जानकारी र ज्ञान नै नभएको विषयमा बोलेको दाबी गरेको छ । फेसबुक विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल हो । फेसबुकका अनुसार विश्वभर मासिक दुई अर्ब ७० करोड सक्रिय प्रयोगकर्ता छन् । ह्वाट्सएप र इन्स्टाग्रामसहित कम्पनीका अरु सामाजिक सञ्जालहरुको प्रयोग गर्नेहरुको संख्या पनि उल्लेख्य रहेको छ ।