खेलकुद

फिफाको वरीयतामा नेपाल ८ स्थान तल झर्‍यो


काठमाडौँ — विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालको वरीयता खस्किएको छ । जुन महिनाको वरीयतामा नेपाल ८ स्थान तल झर्दै १७६ औं स्थानमा पुगेको छ । अघिल्लो महिना नेपाल १६८औं स्थानमा थियो । यो महिना नेपालले एएफसी एसियन कप छनोटमा तीन खेल खेलेको थियो। पहिलो खेलमा जोर्डनसँग २-० गोलले पराजित भएको नेपाल दोस्रो खेलमा आयोजक कुवेतसँग ४-१ गोलले हारेको थियो ।

तेस्रो खेलमा भने नेपालले खराब खेल खेल्यो। नेपाल इन्डोनेसियासँग ७-० को अन्तरमा पराजित भएको थियो । दक्षिण एसियाका टिममा नेपाल तेस्रो स्थानामा छ । शीर्ष स्थानको भारत १०४औं स्थानमा छ। त्यसपछि माल्दिभ्स १५६औं स्थानमा छ ।

नेपालभन्दा पछि रहेका भुटान १८६औं, बंगलादेश १९२औं, पाकिस्तान १९६औं र श्रीलंका २०७औं स्थानमा छन्। श्रीलंका विश्वकै अन्तिम वरीयतामा छ । विश्व वरीयतामा ब्राजिल पहिलो स्थानमा छ । दोस्रो स्थानमा बेल्जियम, तेस्रो स्थानमा अर्जेन्टिना, चौथो स्थानमा फ्रान्स, पाँचौ स्थानमा इंग्ल्यान्ड, छैठौं स्थानमा स्पेन, सातौं स्थान इटाली, आठौं स्थानमा नेदरल्यान्ड्स, नवौं स्थानमा पोर्चुगल र दशौं स्थानमा डेनमार्क छन् । जर्मनी एघारौं स्थानमा रहेको छ ।