Breaking

प्रेमगीत ३ को हिन्दी संस्करणले पायो स्वदेशी मान्यता


काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्माता–निर्देशक सन्तोष सेनको बहुप्रतिक्षित ‘प्रेमगीत–३’को हिन्दी संस्करणलाई पनि नेपाली फिल्मको मान्यता दिएको छ । मन्त्रालयका प्रवक्ता एवं सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले नेपाली कलाकार, नेपाली निर्माता र नेपाली ब्यानरमा नै बनेकाले ‘प्रेमगीत–३’लाई स्वदेशी नै भन्नुपर्ने बताएका छन् । प्रवक्ता पोखरेलले भनेका छन्, ‘निर्माण युनिटले हिन्दी संस्करणका लागि चलचित्र विकास बोर्डबाट केही प्रक्रिया पूरा गर्नुपर्नेछ । त्यसका लागि विकास बोर्डमा छलफल भइरहेको छ । फिल्मले स्वदेशी मान्यता पाउनेछ ।

‘प्रेमगीत–३’को हिन्दी संस्करणको विभिन्न विवाद र रस्साकस्सीपछि मन्त्रालयले विकास बोर्डका अध्यक्ष भुवन केसीलाई विहीबार (आज) सोधपुछका लागि मन्त्रालय समेत बोलाएको थियो । जहाँ अध्यक्ष केसीसँग सेन्सर विवाद र घटनाक्रमबारे सोधपुछ गरिएको थियो । साथै सोधपुछपछि सबै कुरा जानकारी गराएर ‘प्रेमगीत–३’लाई नेपाली मान्यताका लागि पहल गर्न पठाइएको प्रवक्ता पोखरेलले जानकारी गराए । योसँगै अब ‘प्रेमगीत–३’को हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवा–सुविधा सरह प्रदर्शनको मौका पाएको छ । त्यस्तै १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन ।

असोज ७ अर्थात् शुक्रबार ९भोलि०बाट नेपालमा नेपाली र हिन्दी दुवै भर्सन तथा छिमेकी राष्ट्र भारतमा हिन्दी भर्सनमा ‘प्रेमगीत–३’ रिलिजमा आउँदै छ । भारतको विभिन्न नेपाली भाषी स्थानहरुमा पनि नेपाली संस्करणमै फिल्म रिलिज हुने निर्माता–निर्देशक सन्तोष सेनले जानकारी गराउँदै आएका छन् । फिल्मलाई निर्माता सेन र स्वर्गीय निर्देशक छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठलगायतको मुख्य भूमिका रहेको छ । यो फिल्मको एक साता अगाडि नै बूकिङ पनि खुल्ला भइसकेको छ ।