मनोरञ्जन

प्रियजनको एक अंकमालले ‘स्ट्रेस’ घटाउँछ !


काठमाडौँ – आज तपाईँ कुनै ठूलो परीक्षा दिन जाँदै हुनुहुन्छ या कसैसँग जटिल कु्राकानी गर्नुपर्नेछ अथवा कुनै कारणवश् यो दिन अत्यन्तै स्ट्रेसपूर्ण हुनेछ भने यस्तो दिनमा प्रियजनले अँगालो हालेर सुम्सुम्याउँदा त्यसले तपाईँको मनस्थितिमा कस्तो प्रभाव पार्नेछ ?

रिसर्चका अनुसार महिलाहरुमा त्यस साधारण अंकमालले धेरै ठूलो स्तरमा स्ट्रेस घटाइदिने सीएनएनमा प्रकाशित एक समाचारमा उल्लेख छ । तर यही कुराले पुरुषलाई चाहिँ त्यति शक्तिशाली रुपमा फरक नपार्ने पत्ता लागेको छ ।

खोजकर्ताहरुले तनावपूर्ण स्थितिमा आफ्ना प्रियजनबाट अंकमाल पाउँदा मानिसको स्ट्रेस हर्मोनले कस्तो प्रतिक्रिया दिन्छ भन्नेबारे ७६ जनामा सर्वेक्षण गरेका हुन् । यो अध्ययन जर्नल ‘प्लस वान’ मा प्रकाशित गरिएको छ ।

यसमा आफ्ना प्रियजनको अंगालोपछि महिलाहरुमा उल्लेखनीय रुपमा, अंकमाल नगर्नेको तुलनामा ‘कोर्टिसोल’ हर्मोनको उत्पादन कम भएको पाइयो । कोर्टिसोल भनेको स्ट्रेस हुँदा उत्पन्न हुने हर्मोन हो जसले स्मरण क्षमतामा समेत प्रभाव पार्ने गर्दछ । त्यसैकारण कुनै तनावपूर्ण काम गर्न लाग्दा यसले हामीलाई मानसिक रुपमा झन कठिन र असहज बनाइदिन्छ ।

अर्कोतर्फ पुरुषहरुमा चाहिँ यत्तिको ठूलो स्तरमा यो प्रभाव देखिएन । आफूलाई मन पर्ने या माया गर्ने मान्छेले छुँदा हाम्रो शरीरमा ‘अक्सिटोसिन’ नामक ‘न्युरोट्रान्समिटर’ उत्पन्न हुन्छ । यसलाई ‘लभ हर्मोन’ पनि भनिन्छ जसले कोर्टिसोलको स्तर चाहिँ कम गराउँदछ । यसैले पनि मानव स्पर्षले हाम्रो शारीरिक प्रणालीलाई नियमति राख्न मद्दत गर्नु आश्चर्यको कुरा नभएको युनिभर्सिटी अफ एरिजोनाका प्रोफेसर कोरी फ्लोइड बताउँछन् ।

यसबाहेक लामो समयसम्म रहने अन्य शारीरिक स्पर्ष जस्तै ‘मसाज’ ले हाम्रो ‘एन्डोक्राइन’ प्रणालीमा केकस्तो प्रभाव पार्दछ भन्नेबारे पनि खोजी गरिएको थियो । तर यसमा मसाज, अंकमाल जत्तिको प्रभावकारी नभएको पाइएको छ । जस्तै अंगालो हाल्ने प्रक्रिया एकदम छिटो हुन्छ जसले भविष्यमा पैदा हुन सक्ने स्ट्रेसयुक्त तत्वलाई तत्कालै अवरोध गराइदिन सक्छ । यता मसाजका लागि भने विभिन्न तयारी गर्नुपर्ने हुन्छ । जबकी अंगालो हाल्न धेरै सजिलो छ ।

यसरी कोभिड महामारीको प्रभाव कम हुँदै गएकाले अंकमाल फेरिपनि साथ, सद्भाव, माया व्यक्त गर्ने र साथै स्ट्रेस अनि चिन्ता भगाउने राम्रो माध्यम बन्न सक्ने विज्ञहरुले बताएका छन् ।

यता पुरुषहरुमा चाहिँ किन अंकमालले कोर्टिसोलको स्तरमा ठूलो गिरावट ल्याएन भन्ने अझै स्पष्ट भएको छैन । यसका पछाडि सामाजिक कारण हुन सक्ने वैज्ञानिकहरुको अनुमान छ । जस्तै पुरुषका लागि अंकमाल अप्रचलित मान्ने गरिएको छ भने उनीहरुलाई यसले महिला जति राम्रो महसुस नगराउने पनि पाइएको छ । त्यस्तै पुरुष र महिलाको स्पर्ष सम्बन्धी ‘रिसेप्टर्स’ फरक हुनुले पनि यस्तो गराएको हुन सक्ने बताइएको छ ।

तर यस्तो भन्दैमा पुरुषहरुमा स्पर्ष र अंगालोको अलिकति पनि प्रभाव पर्दैन चाहिँ भन्न नमिल्ने अध्ययनकर्ता जुलियन पेकहेजर बताउँछन् ।

यसअघि २०१८ मा गरिएको अर्को एक अध्ययनले झगडा या कुनै नकारात्मक घटनापछि अंकमाल गर्नुले भावनात्मक रुपमा मान्छेलाई राम्रो महसुस गराउने गरेको देखाएको थियो । शारीरिक स्पर्षले हाम्रो स्नायु प्रणालीलाई नै न्यानो आभास गराउने ओहायोकी क्लिनिकल साइकोलोजिस्ट लिजा डेमोर बताउँछिन् ।

उनले भनिन्, “यसमा हामीले एक मात्र कुरामा ध्यान दिन जरुरी छ कि अर्को व्यक्तिले अंकमालप्रति कस्तो धारणा राख्छ रु जस्तै कतिपयका लागि अंगालो हाल्नुले स्ट्रेस, पीडा घटाउने र निकटता बढाउने हुन्छ । तर कतिलाई चाहिँ यो अप्राकृतिक, अफ्ठेरो लाग्न सक्छ जसले उनीहरुमा थप स्ट्रेस बढाउँदछ ।”

त्यसैले पनि प्रियजनहरुलाई आफ्नो पार्टनरको मनस्थितिबारे राम्रो थाहा हुने हुँदा उनीहरुले यसलाई प्रभावकारी रुपमा अपनाउन सक्ने बताइएको हो । सीएनएनबाट