देश

प्रहरीद्वारा भन्सारका कर्मचारी कुटिए


काठमाडौँ — प्रहरीद्वारा भन्सारका कर्मचारी कुटिएका छन् । वीरगन्ज भन्सार अगाडिको मुख्य सडकमा लगाइएको ‘ब्यारियर’ खोल्ने विषयमा विवाद हुँदा सोमबार राति भन्सारका कर्मचारी प्रहरीद्वारा कुटिएका छन् । हरेक बिहान ५ बजेदेखि राति १० बजेसम्म भन्सारको ब्यारियर ९गेट० खुल्ने गरेको छ । सोमबार राति ११ बजेतिर सादा पोसाकमा रहेका प्रहरीले भन्सारका कार्यालय सहयोगी बमबहादुर बिशंखेलाई कुटपिट गरेको भन्सार प्रशासक अरुण पोखरेलले बताए ।

कुटपिटका कारण कार्यालय सहयोगी बिशंखेलाई चोटपटक लागेको उनले बताएका छन् । ‘दोषीमाथि कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरिएको छ,’ उनले भने, ‘इनर्वा प्रहरी चौकीका रहेछन्, उनीहरूको पहिचान भइसकेको छ ।’ कुटपिट गर्ने प्रहरीमाथि कारबाहीको माग गर्दै मंगलबार बिहान भन्सारका कर्मचारीले केही समय ब्यारियरसमेत बन्द गरेका थिए ।

‘ब्यारियर राति १० बजे बन्द हुने गरेको छ,’ भन्सार प्रशासक पोखरेलले भने, ‘सादा पोसाकमा आएका व्यक्तिहरूले आफूलाई प्रहरी बताए पनि उनीहरूले भन्सार कर्मचारीलाई परिचय पत्र देखाएनन्, न त त्यहाँ प्रहरीको गाडी नै थियो, कर्मचारीले ब्यारियर ९गेट० हटाउन नमिल्ने भनेपछि कुटपिट गरेका हुन् ।’ सुरक्षाकर्मीका अनुसार सादा पोसाकमा रहेका प्रहरीले ब्यारियर खोल्न गरेको आग्रह भन्सारका कार्यालय सहयोगीले नमानेपछि इनार्वा प्रहरी चौकीको सहयोग मागिएको थियो । भन्सार गेटभन्दा २ सय मिटर दक्षिणतर्फ इनार्वा प्रहरी चौकी रहेको छ ।

चौकीबाट बर्दीमै प्रहरी आएर भन्सारका कर्मचारीलाई गेट खोल्न आग्रह गरेको थियो,’ एक सुरक्षाकर्मीले भने, ‘सादा पोसाकमा रहेका प्रहरीले समेत नेपाल प्रहरीको परिचय पत्र देखाएका थिए । तर, ती कर्मचारीले मानेन् ।’ पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीले कुटपिटमा संलग्न तीन जना प्रहरीलाई सोधपुछका लागि बोलाइएको बताए । ‘इनार्वा प्रहरी चौकीमा कार्यरत तीन जनालाई सोधपुछका लागि जिल्ला झिकाइएको छ,’ उनले भने, ‘दोषीलाई कारबाही हुन्छ ।’