राजनीति

प्रधानमन्त्री देउवाको विदेश भ्रमण स्कटल्याण्डबाट प्रारम्भ


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाको विदेश भ्रमण स्कटल्याण्डबाट प्रारम्भ हुने भएको छ । सामान्यतया नेपालका प्रधानमन्त्रीले भारतबाट विदेश भ्रमणको सुरुवात गर्ने भए पनि देउवाले पहिलो भ्रमण स्कटल्याण्डबाट गर्ने भएका हुन् । जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६) मा सहभागी हुन स्कटल्याण्डको ग्लास्गो सहरमा जान लागेका हुन् ।

प्रधानमन्त्री देउवा नोभेम्बर १ र २ मा हुने ग्लोबल लिडर समिटमा सहभागी हुनेछन् । उक्त सम्मेलनमा विश्वका धेरै देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख सहभागी हुनेछन् ।

ग्लास्गो सहरमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म हुनेछ। नेपालले जलवायु परिवर्तनबाट परेको असरबारे आवाज उठाउने भएको छ ।

देउवा पाँचौपटक असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री हुने वित्तिकै भारतले भ्रमणका लागि औपचारिक निम्तो दिने भए पनि अहिलेसम्म दिएको छैन ।