खेलकुद

प्रधानमन्त्री कप क्रिकेट : पुलिस सेमिफाइनलमा


काठमाडौँ — नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ए अन्तर्गत त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ८९ रनले हराएर लगातार तेस्रो जित हात पारेको पुलिसले समूह चरणको अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनलमा स्थान बनाएको हो । पुलिस समूह ए को विजेता पनि बनिसकेको छ ।

३ खेलबाट पुलिसको ६ अंक भएको छ । सुदूरपश्चिम र आर्मीलाई पराजित गरेको पुलिसले अब प्रदेश १ संग खेल्न बाँकी छ । उता समूहको चारै खेल खेलिसकेको कर्णाली जम्मा २ अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको छ ।

ओपनर कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरेपछि पुलिसले पहिले ब्याटिङ गर्दै कीर्तिमानी २४४ रन बनाएको थियो । प्रधानमन्त्री कप टी-२० मा यो कुनै पनि टिमले बनाएको उच्च स्कोर हो ।