प्रदेश नं. २

प्रदेश २ सरकारलाई बदनाम गर्ने प्रयास भएको छ : मुख्यमन्त्री राउत


काठमाडौँ – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो नेतृत्वको सरकारलाई बदनाम गर्न अनेक चलखेल भइरहेको बताएका छन् ।

बुधबार प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिनअघि मुख्यमन्त्री कार्यालयमा छापा मार्नु सरकारलाई बदनाम गर्ने प्रयास भएको बताएका हुन् ।

आफू सुशासन र पारदर्शिताको पक्षपाती रहेको भन्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारलाई बदनाम गर्न अनेक षड्यन्त्र भइरहेको बताए । ‘यो त संस्थामाथिको हमला हो,’ उनले भने, ‘प्रदेश सरकारलाई बदनाम गर्न अनेक प्रकारका षड्यन्त्र भइरहेको छ ।’

मुख्यमन्त्री कार्यालयले बेटी बचाऊ बेटी पढाउ कार्यक्रम अन्तर्गत गत वर्ष प्रदेशभरका ८ कक्षाका छात्रालाई साइकल वितरण गरेको थियो । सो कार्यक्रम पारदर्शी नभएको भन्दै समाचार प्रकाशन भएपछि अख्तियारले गत हप्ता छापा मारेको थियो ।