प्रदेश नं. २

प्रदेश २ मा दुई मन्त्रीको जिम्मेवारी हेरफेर


काठमाडौँ – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतका अनुसार आर्थिक मामिला तथा योजनामन्त्रीमा शैलेन्द्र साहलाई ल्याइएको छ । साह भने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री हुन् । यादव र साहको मन्त्रालयको जिम्मेवारी हेरफेर गरेका हुन् ।

सरकार स्थापना भएदेखि अर्थमन्त्री रहेका विजयकुमार यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको र सो मन्त्रालयमा रहेका शैलेन्द्र साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको हो । दुवै जना जसपाबाट मन्त्री बनेका हुन् । मन्त्रीद्वयको जिम्मेवारी किन हेरफेर गरिएको भन्ने कारण खुल्न सकेको छैन ।

सरकार निर्माणकै चरणमा मन्त्री यादवले मुख्यमन्त्री दावी गरेका थिए । उनी जसपा प्रदेश २ का अध्यक्ष हुन् । उनले जसपा संसदीय दलको नेता र मुख्यमन्त्री बन्ने चाहना राख्दै आएका छन् । पछिल्लो समय मुख्यमन्त्री राउत र अर्थमन्त्री रहेका यादवबीच खटपट हुँदै आएको छ ।