देश

प्रदेश १ साक्षर प्रदेश घोषणा


काठमाडौँ — ९५ प्रतिशत नागरिक साक्षर भएको दाबी गर्दै अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा प्रदेश १ सरकारले बिहीबार साक्षर प्रदेश घोषणा गरेको हो । प्रदेशका १५ देखि ६० वर्ष उमेर समुहका नागरिकको साक्षरता प्रतिशत ९५ प्रतिशतभन्दा माथि भएकाले साक्षर प्रदेश घोषणा गरेको प्रदेश १ सामाजिक विकास मन्त्री राजन राईले बताए । आगामी वर्ष प्रदेश १ लाई पूर्ण साक्षर प्रदेश घोषणा गर्ने योजना रहेको उनले बताए ।

पूर्ण साक्षर घोषणाका लागि अनौपचारिक र वैकल्पिक शिक्षा, विद्यालय केन्द्रित साक्षरता कार्यक्रम र स्थानीय तहसँगको सहकार्यमा उच्च शिक्षामा इन्र्टनसिपलगायतका योजना तयार गरेको सामाजिक विकास मन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसार ओखलढुङ्गामा ९९.०५, उदयपुरमा ९५.३२,पाँचथरमा ९७, झापामा ९८.३३, धनकुटामा ९७.२५, इलाममा ९७.६२, खोटाङमा ९६.५६, सुनसरीमा ९५.५, तेह्रथुुममा ९५.९८, भोजपुरमा ९६.४, मोरङमा ९६.५, संखुवासभामा ९५.६३, ताप्लेजुङमा ९६.४५ र सोलुखुम्बुमा ९६.७३ प्रतिशत नागरिक साक्षर रहेको मन्त्रालयले जनाएको छ ।

राष्ट्रभाषा र मातृभाषा, मूल्यसुची र बिल तथा परिवारका सदस्यहरुको नाम र उमेर पढ्न लेख्नसक्ने, मोबाइल र क्याल्कुलेटरको प्रयोग गर्न जान्ने, ० देखि ९ सम्मका अङ्क र अक्षर लेख्नसक्ने, १ देखि १०० सम्म गणना गर्नसक्ने, साइनबोर्ड र ट्राफिक सङ्केतहरु सहजै पहिचान गर्नसक्ने क्षमतालाई साक्षरताको आधार बनाइएको छ ।