प्रदेश–१

प्रदेश १ : विश्वासको मतमाथि छलफल आज


काठमाडौँ – प्रदेश १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको तेस्रो बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री भीम आचार्यले संसद सचिवालयमा दर्ता गराएको विश्वासको मत सम्बन्धी प्रस्ताव पेश हुनेछ ।

गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव असोज २५ गते सचिवालयमा दर्ता गराएका थिए । शुक्रबार बस्ने बैठकमा सो प्रस्ताव टेवल गरेपछि छलफलको प्रकृयामा जानेछ । शुक्रबारको बैठकमा छलफल गरेर मतदान भने केही दिन पर सार्ने सत्ता पक्षको तयारी छ ।

बिहीबार बसेको बाग्मती प्रदेशको बैठकले विश्वासको मतसम्बन्धी छलफल भए पनि मतदान गर्ने मिति एक साताका लागि सरेको थियो । प्रदेश १ मा शुक्रबार प्रस्ताव टेवल गर्ने र छलफलपछि मतदानको मिति केही दिन पर सार्ने तयारी भएको हो । संसद सचिवालय स्रोतका अनुसार आइतबार मतदान हुनसक्छ ।