प्रदेश–१

प्रदेश १ का मन्त्रीले हटाए कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर


काठमाडौँ – प्रदेश १ का स्वास्थमन्त्री जयराम यादवले आईटबार आफ्नो कार्यकक्षबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्वीर हटाएका छन् । संघीयता कार्यान्वयनका लागि राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएर प्रदेश प्रमुख र मुख्यमन्त्रीको तस्वीर राखेको जनाएका छन् ।

यादवले आफ्नो कार्यकक्षमा अहिले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री राजेन्द्रकुमार राईको तस्वीर राखेका छन् । उनले तस्वीर हटाएको जानकारी सामाजिक सञ्जालबाट दिएका हुन् ।

यादवले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल–जिन्दावाद । राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री राजेन्द्रकुमार राईको तस्वीर आजदेखि स्वास्थ्य मन्त्रालयमा स्थापित गरियो ।’