राजनीति

प्रचण्डको चालमा गठबन्धन फस्दै, एमालेको दोधारे कुरा, कट्टर विरोधी कसरी समर्थक ? (भिडियोसहित)


काठमाडौँ – स्थानीय तह कि संसदीय निर्वाचन पहिला भन्ने अलमलमै गठबन्धनका दलहरु अल्झिएका छन् । पाँच दलीय मोर्चामै खटपट भएर मत मिल्न नसकेपछि निर्वाचन नै अन्योलताको विषय बनेको छ ।
अर्लि इलेक्सनको सबैभन्दा कट्टर विरोधी प्रचण्ड र माधव नेपाल अहिले सबैभन्दा ठुलो समर्थक बनेर उभिएका छन् । कुनैबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई/दुईपटक संसद् विघटन गरेर निर्वाचनको घोषणा गर्दा प्रतिनिधिसभाले पुरा कार्यकाल चल्न पाउनुपर्छ भन्दै प्रचण्ड–माधवले सडक तताएका थिए । अहिले उनी आफै संसद् विघटन गर्दै बैशाखमै संसदीय निर्वाचन गर्ने पक्षमा छन् ।

दुई/दुईपटकको प्रतिनिधिसभा विघटनलाई उल्ट्याउँदै सर्वाेच्चले यो संसद् पुरा कार्यकाल चलाउनुपर्ने ब्याख्या गरेको छ । यसको मतलब अब जसको नेतृत्वमा विघटन भएपनि त्यो असंवैधानिक हुनेछ । तर प्रचण्डको तर्क छ, संसद्बाटै बहुमतले विघटनको सदर गराएर चुनावमा जाँदा त्यो संवैधानिक नै हुन्छ ।

यसअघि एमालेले चुनाव चाहदा प्रचण्डसहितको मोर्चाले चाहेको थिएन । यद्यपी एमाले जहिल्यै अर्लि एलेक्शनको पक्षमा छ । तर अहिले स्थानीय निर्वाचनलाई पछि धकेलेर संसदीय निर्वाचनमा जाने विषय एमालेभित्र पनि विभाजित बनिरहेको छ । महासचिव शंकर पोखरेलले एमालेको असहमती अर्लि इलेक्सनप्रति नभई स्थानिय चुनाव समयमै नगर्ने र स्थानिय तहलाई रिक्त बनाउदै दुरुपयोग गर्ने पाँच दलिय गठवन्धनको कुनियतप्रति रहेको भन्दै दोधारे कुरा गरेका छन् । यसले स्थानीय तहको चुनाव पनि सार्न नपाइने र अर्लि इलेक्सन पनि स्वागतयोग्य रहेको संकेत गर्छ । तथापी अन्य नेताहरु प्रक्रियागत रुपमै चुनाव हुनुपर्ने मत राखिरहेका छन् ।

बैशाखमै संसदीय कि स्थानीय तहको निर्वाचन भन्नेमा गठबन्धनभित्र अलमल र खटपट छ । प्रचण्ड र माधव नेपाल संसद् विघटन गरेरै अर्लि इलेक्शनमा जान खोजिरहेका छन् । उनीहरुलाई काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको समेत साथ छ । एमालेको अवरोधमा संसद् नचल्ने भन्दै अर्लि इलेक्शनको प्रस्ताव गरेका उनीहरुलाई स्थानीय तहको चुनाव पहिले गर्दा पराजित हुन सक्ने र गठबन्धन टुट्ने डर छ ।

किनकि काँग्रेसभित्र शेखर कोइराला पक्षले माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचनपछि चुनावी तालमेल नहुने स्पष्ट पारेको छ । सभापतिसमेत रहेका देउवा भने सबै विकल्पका लागि तयार छन् । काँग्रेससँग तालमेल नगर्दा चुनाव जित्नै नसक्ने प्रक्षेपण प्रचण्ड–माधवको छ ।

तोकिएको समय वैशाखमै स्थानीय तहको चुनाव भयो भने तल्लो तहमा गठबन्धनका दलहरुबीच नै तालमेल मिलाएर जान कठिन छ । गत स्थानीय तहको चुनावी तालमेलमै प्रचण्ड र काँग्रेसले पाठ सिकाउने र सिक्ने काम गरेका छन् । गत स्थानीय तहको चुनावमा कांग्रेससँग गठबन्धन गर्दा अपेक्षित परिणाम नआएपछि प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा एमालेसँग गठबन्धन गरेका थिए ।

प्रचण्ड एक्कासी एमालेसँग मिल्न गएपछि काँग्रेसले नमिठो पराजय ब्यहोरेको थियो । फलतः यहि अवस्थामा एकमत भएर काँग्रेससहितको दल निर्वाचनसम्म जाने सम्भावना न्यून छ ।