Uncategorized

पोखरामा पार्टीले इच्छाबेगर आफ्नो नाम उपप्रमुखमा मनोनित गरेको गुरुङको गुनासो


काठमाडौँ – नेकपा एमालेबाट पोखरा महानगरपालिकाको उपप्रमुखमा मनोनयन दर्ता गराएकी मञ्जुदेवी गुरुङले इच्छाबेगर पार्टीले आफ्नो नाम मनोनित गरेको गुनासो गरेकी छिन् ।

आफूले ५ वर्ष उपप्रमुख र केही समय कार्यवाहक भएर पनि महानगरको नेतृत्व गरिसकेकाले अरुले अवसर पाउनुपर्ने मनोनयको अन्तिम समयसम्म उनको मत थियो । उनले पार्टीले आफ्नो इच्छाबेगर नै उपप्रमुखमा सिफारिस गरेको मनोनयन दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै असन्तुष्टि जाहेर गरिन् ।

‘मैले सरुमा एकपटक उपमेयर भइसके । कार्यवाहक बनेर पनि काम गर्ने अवसर प्राप्त भयो । पार्टीभित्रै पनि इच्छुक धेरै हुनुहुन्थ्यो । १२ जना मेयर हुँदा ११ जना उपमेयर हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘त्यही भएर अरुलाई अवसर दिनुपर्छ भन्ने हिसाबले मैले इच्छा जाहेर गरेकी थिइनँ । त्यो लिस्टमा मेरो नाम पनि थिएन ।’

गुरुङले पत्रकारहरुसँग भनिन्, ‘पछि फेरि एकैचोटि माथिबाट मेरो नाम आयो । एकचोटि सोधेको भए हुन्थ्यो, ठीक छ हामीले पार्टीको निर्देशन मान्नुपर्छ । तर, पनि एक पटक सोधेको भए हुन्थ्यो ।’

सोमबार बिहान पार्टीको उम्मेदवार पुनर्विचारका लागि बसेको बैठकले पोखरा पूर्वमेयरसमेत रहेका कृष्ण थापालाई मेयरमा मनोनीत ग¥यो । उपप्रमुखमा भने मञ्जुदेवीलाई यथावत राखेको थियो ।

यद्यपि, पोखरा महानगर उपप्रमुखमा आफूले १२ हजार मतान्तरले जित्ने दाबी गरेकी छन् । अघिल्लो चुनावमा उनले निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सरस्वती गुरुङलाई १२ हजार ११० मतान्तरले पराजित गरेकी थिइन् ।

नेकपा एमालेको शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रमुखमा दीपक पौडेल र उपप्रमुखमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।