Breaking

पेलोसीको भ्रमणले आक्रोशित चीन सांसदको भ्रमणले थप चिढियो, सीमा क्षेत्रमा निरन्तर सैन्य अभ्यास


काठमाडौँ — अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणले पेचिलो बनेको चीन ताईवानको सम्बन्धमा थप तनाव सिर्जना भएको छ । न्यान्सीको भ्रमणको १२ दिनपछि अमेरिकी सांसदहरुले गरेको ताइवान भ्रमणले चीन थप चिढिएको हो । चीनले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणप्रति कडा आपत्ति जनाएको १२ दिन बित्दा नबित्दै अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डलले पुनः ताइवानको भ्रमण गरेका छन् । चीनको चेतावनीलाई बेवास्ता गर्दै अमेरिकी सांसद राजधानी ताईपेई पुगेपछि पेलोसीको विवादास्पद भ्रमणले आक्रोशित बनेको चीन थप चिढिएको छ ।

ताइवानमा रहेको अमेरिकन इन्स्टिच्युटले म्यासाचुसेट्सका डेमोक्र्याटिक सांसद एड मार्कीको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल एसिया भ्रमणको क्रममा आइतवार र सोमबार ताइवानमा विताए । प्रतिनिधिमण्डलका सदस्यहरूले वरिष्ठ नेताहरूसँग अमेरिका–ताइवान सम्बन्ध, क्षेत्रीय सुरक्षा, व्यापार, लगानी र अन्य विषयमा छलफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
भ्रमणमा रहेको टोलीले सोमबार ताइवानी राष्ट्रपति साइ इङ–वेनसंग भेटवार्ता गरेको छ । साइको कार्यालयले अमेरिकाको यो दोश्रो उच्च स्तरीय भ्रमणले अमेरिकाको ताइवानप्रति बलियो समर्थन रहेको संकेत गरेको पनि जानकारी दिएको छ । यता, आफ्नो चेतावनीका बाबजूद पनि अमेरिकीले ताइवान भ्रमण गरेपछि ताइवान आसपासमा थप सैन्य अभ्यास गर्ने चेतावनी दिएको छ । यसअघि पनि पेलोसीको भ्रमणको जवाफमा, चीनले ताइवानको समुद्र र हवाई क्षेत्र वरपर मिसाइलहरू प्रहार र युद्धपोत लडाकु विमानहरू पठाएर सैनिक अभ्यास गरेको थियो ।

यद्यपि, अहिले पनि चीनले निरन्तर ताइवान वरपर आफ्नो सैन्य गतिविधि जारी राखेको छ । त्यस्तै राष्ट्रपति वेनले चीनको गतिविधिलाई नजिकबाट नियाली रहेको र आवश्यकता अनुसार आफूहरु जवाफ दिन तयार रहेको अभिव्यक्ति दिएका छन् । उनले ताइवानलाई समर्थन गर्न र क्षेत्रीय सुरक्षा स्थितिमा तनाव बढ्न नदिन पनि विश्व समुदायलाई आग्रह गरेका छन् । बेइजिङले स्वशासित टापु राष्ट्र ताइवानलाई आफ्नै प्रान्तबाट टुक्रिएको भूभागको रूपमा लिने गरेको छ । साथै चीनले ताइवान चीनमा गाभिनुको विकल्प नरहेको दाबी गर्दै आइरहेको छ । ताईवानले भने आफूहरु स्वतन्त्र राष्ट्र भएको दावी गर्दै आईरहेको छ । यद्यपि अमेरिकाले ताइवानलाई औपचारिक रूपमा सार्वभौमसत्ता सम्पन्न राष्ट्रको मान्यता भने दिएको छैन । अहिले टसलको विषय बनेको स्वशासित टापु सन् १९४९ को गृहयुद्धबाट अलग भएको थियो ।