राजनीति

पार्टीलाई एकताबद्ध बनाउन पोखरेललाई खनालको आग्रह


काठमाडौँ – स्वास्थ्यमा समस्या देखिएको नेता पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गरेका छन् । गम्भीर बिरामी भएर उपचारका लागि दिल्ली जान लागेका बेला नेता खनालले यस्तो आग्रह गरेका हुन् ।

नेता खनाल थप उपचारका लागि दिल्ली जान लागेको खबर पाएपछि एमाले महासचिव पोखरेल बुधबार उनलाई भेट्न थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए । आफूलाई भेट्न आएका महासचिव पोखरेललाई खनालले पार्टी एकताका लागि भूमिका खेल्न आग्रह गरेको पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । ‘जेएन कामरेडले पार्टी एकताका लागि भूमिका खेल्न महासचिवलाई आग्रह गर्नुभयो,’ पाण्डेले भने, ‘महासचिवज्यूले तपाई चाँडै निको भएर आउनुहोला, त्यसपछि छलफल गरौंला भन्दै स्वास्थ्यलाभको कामना गर्नुभयो ।’

अक्सिजनको सपोर्टमा उपचारत खनाल बोल्न सक्ने अवस्थामै रहे पनि स्वास्थ्य स्थिति जटिल देखिएको पाण्डेले बताए । नेता खनालको थप उपचारका लागि आजै दिल्ली जाँदैछन् ।